विमानले आकाशमा फन्को लगाउँदा बाचिदैन भन्ने लागेको थियो यात्रु

विराटनगर । मोरङ बेलबारी–२ का भवानी रिजाल काम विशेषले काठमाडौं जानुभएको थियो । काम सकेर आज उहाँ बुद्ध एयरको फ्लाइटबाट घर फर्कन लाग्नुभएको थियो ।
तर, विराटनगर आए पनि जहाज भने ल्याण्ड भएन । ल्याण्ड गर्ने प्रयास गरे पनि जहाज फेरि काठमाडौं फर्कियो । केहीबेर आकाशमै घुमिरह्यो । उहाँका अनुसार सात फन्का काठमाडौको आकासमा जहाज उडेको थियो ।

‘एयर होस्टेसले नआत्तिन आग्रह गरिराखेका थिए तर हामी भने एकदमै आत्तिएका थियौँ,’ उहाँले भन्नुभयो, ‘कोहीले त ढोका खोल्दिनुस् हामी हामफालेर भए पनि ज्यान जोगाउँछौं भन्दै कराए ।’​

जहाजमै रहनुभएकी कविता अधिकारीलाई पनि आज बाँच्छु जस्तो लागेको थिएन । आफ्नो भन्दा बढी चिन्ता आफ्नो बच्चाको लागेको उहाँको भनाइरहेको छ । ‘काठमाडौं घरबाट दमक माइत जान छोराछोरीसहित आएको हुँ,’ उहाँले भन्नुभयो, ‘आज बाँच्छु जस्तो लागेको थिएन, धन्य अहिले नै मर्न जुरेको रहेनछ ।’

प्रदेश १ का आर्थिक मामिला मन्त्रालयका कर्मचारी गोविन्द आचार्य पनि सोही जहाजमा हुनुहुन्थ्यो

‘बिहान ८ः०५ मा उडेको जहाज करीब ९ बजेतिर विराटनगर पुग्न लाग्दा जहाज ल्यान्ड हुन नसकेको कुरा थाहा पायौँ,’ उहाँले भन्नु भयो, ‘काठमाडौंमा धेरैबेर आकाशमा होल्ड हुँदा धेरैको रुवाबासी चलेको थियो, हामीले केहीलाई सम्झायौँ पनि ।’​

सुन्दरहरैँचा–१२ का हिमेश काफ्लेले यात्रा एकदमै त्रासदीपूर्ण रहेको बताउनु भयो । ‘काठमाडौं पुग्दासम्म पनि एयर होस्टेसले केही भएको छैन, सामान्य समस्या हो नआत्तिनुस् भनेर ढाडस दिइरहेका थिए,’ उहाँले भन्नु भयो , ‘तर त्रिभुवन विमानस्थलमा प्रहरी, दमकल देख्दा अब चाहिँ नबाँचिने रहेछ भन्ने लागेको थियो ।’

एयर होस्टेसले पनि अन्तिम समयमा मात्रै घटनाबारे साँचो जानकारी दिएको उनको भनाइ छ।

चालक दलका सदस्यले सफलतापूर्वक अवतरण गराएपछि भने आफूहरूले नयाँ जीवन पाएको महसुस भएको यात्रुहरूले बताए । ​

विराटनगर विमानस्थल प्रमुख उत्सवराज खरेल पाइलटको सावधानीका कारण जहाज दुर्घटना हुनबाट बचेको बताउँनुहुन्छ । उहाँका अनुसार चक्का नखुलेपछि काठमाडौं जान पाइलटले अनुमति मागेका थिए । ‘हामी पनि फोर्स ल्यान्डिङ गर्ने तयारी अवस्थामा थियौँ, दमकललगायत आवश्यक सामग्री तयारी अवस्थामा राखेका थियौं ।’

Back to top button