माकुनाको मृत्यु सँगै कोशी टप्पु आरक्षमा आएका हात्ति रित्तिए

२०६७ सालमा माकुनाकै नेतृत्वमा १३ वटा जंगली हात्ति आएका थिए

विराटनगर । माकुनाको मृत्युसँगै २०६७ सालमा कोशिटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा आएका १३ वटा हात्तिको बथान रित्तिएको छ ।

उ बेला माकुनाकै नेतृत्वमा बथान आरक्ष क्षेत्रमा आएका थिए । अहिले ति सवै हात्ति मरीसकेका छन् । जंगली हात्तिको नाइकेका रुपमा परिचित माकुनाको करेन्ट लागेर मृत्यु भएको हो ।

माकुना कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयको रैथाने हात्ति हो । आरक्ष छेउको धानबारीमा लगाइएको करेन्टमा परेर माकुनाको मृत्यु भएको प्रमुख संरक्षण अधिकृत अशोक रामले जानकारी दिनुभयो । चरनका क्रममा धानखेतमा पुगेको माकुनाको हिजो करेन्ट लागेको हो ।

अधिकृत अशोक रामका अनुसार १३ वटा मध्ये ७ वटा हात्ति करेन्ट लागेर मरेका छन् भने एउटाको चोरी शिकारीका कारण मरेको थियो । अन्य हात्ति काल गतिले नै मरेको कार्यालयले जनाएको छ । सरकारले हात्ति संरक्षण गर्न कार्यक्रम ल्याउन नसक्दा हात्तिको सख्या घट्दै गएको अधिकृत अशोकको बुझाई छ ।

उहाँले हात्ति हिड्ने क्षेत्रमा चुरेको बाटो बनाइएपछि अवस्था जटिल बनेको हो । ‘हात्ति गाँउतिर पसेर विगार गर्छन गाँउलेले अन्नबाली जोगाउन करेन्ट लगाउने गर्छन्,’ उहाँले भन्नुभयो, ‘सरकारले आरक्ष क्षेत्र आसपासका वासिन्दाको ब्यबस्थापन गरेर हात्तिको संरक्षणमा ध्यान दिन आवश्यक छ ।’

केही साताअघि मात्रै संरक्षण विभागले माकुना स्थानान्तरणको विषयमा तयारी थालिएको बताएको थियो । जसका लागि आरक्ष हातामा स्थापना गरिएको प्रकृति संरक्षण कोष मातहतको कोशी टप्पु संरक्षण केन्द्रलाई अध्ययनको जिम्मेवारी दिइएको थियो ।

माकुना जंगली हात्ती भए पनि रैथानेका रुपमा लामो समयदेखि आरक्ष हातामै बस्दै आएको थियो । माकुना हात्तीसारमा रहेका हात्तीको अभिभावकका रुपमा चिनिन्थ्यो ।

आरक्षबाट हुलमा वस्तीमा प्रवेश गर्ने क्रममा माकुनाले अन्य हात्तीको अगुवाइ गर्ने गरेको प्रमुख संरक्षण अधिकृत रामले बताउनुभयो । माकुनाको आक्रमणमा परी सर्वसाधारणको ज्यान जाने क्रम बढेसँगै हात्ती स्थानान्तरणको आवाज उठ्दै आएको थियो ।

माकुनाले सुनसरी र सप्तरीतर्फका दर्जन बढी मानिसको ज्यान लिएको थियो । जिल्ला प्रशासन कार्यालयले गत वर्षनै माकुना मार्ने तयारी गरेपनि तिव्र विरोधका कारण पछाडि हटेको थियो । माकुनाको रेखदेख गर्नका लागि आरक्षले ३२ जना कर्मचारी खटाएको थियो ।

नेपाली सेना र आरक्षका कर्मचारी गरी ३२ जना कर्मचारी रेखदेखमा खटिएका हुन् । अझै कर्मचारी अभाव भएको भन्दै पटक–पटक कार्यालयले मन्त्रालयमा पत्र समेत गर्ने गरेको थियो । आरक्ष कार्यालय भन्दा ५ सय मिटर पर माकुना मर्नुले कर्मचारीको कमजोरी देखिएको स्थानीयको भनाई छ ।

Back to top button