गोरखा दरबारबाटा फूलपाती पठाइयो, हनुमानढोका

काठमाडौ । गोरखा दरबारबाट काठमाडौँको हनुमानढोकाका लागि फूलपाती पठाइएको छ ।

आज बिहान ८ बजेर २५ मिनेटको साइतमा निकालिएको फूलपाती बा २ झ २१२९ नम्वरको सरकारी गाडीमा राखेर काठमाडौँ पठाइएको दरबारका पुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिनुभयो।

गोरखाबाट आएको फूलपाती आज अपराह्न साढे चार बजे बाजागाजासहित काठमाडौँको हनुमानढोकास्थित दसैँ घरमा भित्र्याइने छ । गोरखा नगरपालिका–५ पस्लाङ क्षेत्रबाट फूलपाती सङ्कलन गरिएको थियो ।

सुसारेहरू बिहानै ५ बजे जङ्गल गएर नवपत्रिकाहरु सङ्कलन गरेर ल्याउनुभयो,’ भट्टराईले भन्नुभयो, ‘त्यही नवपत्रिकाहरू फूलपातीको रूपमा आज हनुमान ढोका पठाएका हौं । नवपत्रिकामा अशोक, बेल, दारिम, सामा, धान, उखु, केरा, जयन्तीका, हलेदोलगायत रहेको उहाँले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, गोरखा दरबार हेरचाह अड्डाका कर्मचारी, गोरखा दरबारका पुजारीहरू लगायतको उपस्थितिमा फूलपाती पठाइएको हो ।

Back to top button