नरेन्द्र दंगालको देउसी गीत सार्वजनिक

इटहरी । नरेन्द्र दंगालको ‘नेपालीजनको …’ बोलको देउसी गीत आज सुनसरीको इटहरीमा औपचारीक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।

तिहारको पूर्वसन्ध्यामा लोकार्पण गरिएको उक्त गीतको भिडियो परम्परागत देउसी संस्कृतिको जर्गेना गर्ने उद्देश्यले तयार पारिएको देखिन्छ । दंगालले मौलिक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले यो गीत तयार गरिएको बताउनुभएको छ ।

यो गितमा गायनसँगै गितको रचना तथा संगीत पनि दंगालकै रहेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वरिष्ठ गायक बालकृष्ण कार्कीले देउसी भैलो खेल्ने क्रममा आजभोलि तडक भडक भित्रिरहेको सन्दर्भमा यस्ता मौलिक संस्कृति झल्किने गीतले संस्कृति संरक्षणमा टेवा पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

नागरिक समाज इटहरीका अध्यक्ष राजु केसीले यस्ता गीतहरुलाई युवा पुस्ताले संरक्षण गर्ने प्रयास गर्नु अत्यन्त सह्रानीय कार्य भएको बताउनु भयो ।

यस्तै सुन्दरहरैंचा वडा नं. ४ का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठले निकै राम्रो देउसी गीत बनेको भन्दै यस्ता लोकसंस्कृति संरक्षणमा आफुले निकै चासो दिने गरेको भन्दै यसतर्फ आफुले वडामा पनि केही नौलो काम गर्ने योजना बनाइरहेको बताउनुभयो ।

प्रेस चौतारी नेपालका उपाध्यक्ष लिलाराज भट्टराईले युवा सञ्चारकर्मीहरुले मौलिक देउसी गीत सार्वजनिक गरेर लोक संस्कृति संरक्षणमा सहयोग पुर्‍याएको धन्यवाद दिनुभयो ।

पत्रकार रेवती निरौलाको संयोजनमा सुनसरी र मोरङका सञ्चारकर्मीहरुको संयुक्त प्रयासमा तयार गरिएको उक्त गीतको भिडियोमा सुनसरी र मोरङका पत्रकारहरुको अभिनय रहेको छ भने बालकुमार थेवेले हाँस्य अभिनय गर्नुभएको छ । हाइलाइटस् नेपाल नामको युट्युव च्यानलबाट गीतको भिडिायो सार्वजनिक गरिएको छ ।

 

Back to top button