जनगणनामा सहयोग गरौं : एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजदेखि सुरु हुने १२ औं राष्ट्रिय जनगणनामा सहभागी हुन अपिल गर्नुभएको छ । अध्यक्ष ओलीले आज भिडियो सन्देश जारी गर्दै जनगणना राष्ट्र विकासको एक महत्वपूर्ण पक्ष भएकाले जनगणनामा उत्साहपूर्वक सहभागी हुन र सहयोग पुर्‍याउन पुनरावेदन गर्नुभएको हो ।

अध्यक्ष ओलीले सही विवरण टिपाउने सन्देश प्रवाह गर्न र जनगणनालाई पूर्ण रुपमा सफल पार्नका लागि सहयोग गर्न आह्वान गर्नुभयो । राज्यको सेवा अझै प्रभावकारी बनाउन उपयुक्त तथ्यांक उपलब्ध गराउने भएकाले यसमा सहभागी भइ सहयोग गर्न सबै नेता, कार्यकर्ता र आम नागरिकमा उहाँले आह्वान गर्नुभएको हो ।

जनगणनाबाट प्राप्त तथ्यांक अनुसार राज्यलाई नीति निर्माणमा सहयोग पुग्ने भएकाले यसमा सहयोग गर्नु सबैको कर्तव्य भएको अध्यक्ष ओलीको भनाइ छ।

‘उहाँले भन्नुभयो, ‘जनगणनाले हाम्रो समाज कहाँ छ ? विकासको स्तर कहाँ पुगेको छ ? कुन क्षेत्रमा हामी कति अगाडि बढेका छौं, कुन क्षेत्रमा ध्यान दिनुपर्ने आवश्यकता छ, मानव संशाधन र मानव स्रोतको विकास, अथवा अन्य विकासमा हामी कहाँनिर छौं, हाम्रो आयस्रोत कस्तो छ, हाम्रो आर्थिक अवस्था, रोजगारीको अवस्था, शैक्षिक अवस्था कस्तो छ लगायत विषय राज्यले जानकारी पाएपछि नै तनअनुसार योजना निर्माण गर्न सक्छ,तसर्थ त्यसका लागि तथ्यांक आवश्यक छ,त्यसैले जनगणना गरिन्छ।

अध्यक्ष ओलीले जनगणनामा खटिएका कर्मचारी (गणक) लाई पूर्ण रुपमा सहयोग गर्न पनि अपिल गर्नुभयो ।

Back to top button