मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, २१ घर जले

काठमाडौं । मुगुको सदरमुकाम गमगढी बजारमा राति आगलागी भएको छ । आगलागीमा २१ वटा घर जलेर नष्ट भएका छन् । आगो नियन्त्रणमा लिने क्रममा एउटा कच्ची घर भत्काइएको छ ।

स्थानीय खिम्मे लामाको घरमा बालेको दियोबाट राति साढे १२ बजेतिरबाट शुरु भएको आगो अहिले सेना, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा निभाउने काम भइरहेको छ। आगोलाई फैलनबाट रोके पनि पूरै आगो भने नियन्त्रणमा आइनसकेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिनुभएको छ ।

गमगढी बजारका घरहरु काठैकाठले बनेका र एकअर्कासँग जोडिएकाले आगो नियन्त्रणमा लिन कठिन भएको हो । आगो निभाउने क्रममा गोरख मल्लको एउटा कच्ची घर भत्काइएको छ ।

आगलागीमा मानवीय क्षति भने हुन पाएन । धनमाल क्षतिको विवरण भने संकलन भइनसकेको मुगु प्रहरीले जनाएको छ ।

Back to top button