हिजो रोकिएको मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम आज अघि बढ्दै

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राइले आज विश्वासको मत लिदै छन् । हिजो लिने भनिएको विश्वासको मत एमालेका सांसद उपस्थित नभएपछि स्थगित गरीएको थियो ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव देखाउदै सांसद आउन नसक्ने भनि नेकपा एमालेका सांसदले हिजोको बैठक रोक्न माग गर्दै निवेदन दिएका थिए ।

सभामुख भण्डारीले एमालेले निवेदन दिएपछि कार्यब्यवस्था परामर्श समितिको बैठक राखेर रोक्नुपर्ने प्रस्ताव गर्नुभएको थियो । सत्ता साझेदारदहरुले बैठक रोक्नु नहुने अडान राखेपछि सभामुख भण्डारीले बैठक आह्वान गर्नुभएको थियो ।

हिजो १२ः३० बजेकालागि बोलाइएको बैठक तोकिएको समय भन्दा झन्डै २ घन्टा पछि मात्रै बसेको थियो । उक्त बैठकमा प्रतिपक्षका सांसदहरुको अनुपस्थिति रहेपछि बैठक पनि १ मिनेट मात्र बसेर आज सम्मका लागि स्थगित भएको थियो ।

आजको बैठकमा भने प्रमुख प्रतिपक्षी दलले समेत सहभागि हुने जनाएको छ । ‘हिजो बन्दका कारण माननीय ज्युहरु आउन सक्नु भएन, आज आउनु हुन्छ,’ एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले भन्नुभयो, ‘सत्तापक्षका सांसदलाई होटलमा मासुभात खुवाएर राखिएको थियो । हाम्रा घर तिर नै हुनुहुन्थ्यो, आउन बन्दले प्रभाव पर्यो ।’

बैठक आज ११ः३० बजे बस्ने संसद सचिवालयले जनाएको छ । हिजोको बैठक स्थगित गरेपछि मुख्यमन्त्री राजेन्द्र राईले सभामुख भण्डारीले एमाले सांसदको भुमिका खेलेको आरोप लगाउनुभएको छ ।

Back to top button