निर्वाचन पछि एमालेको बिजोग र बेहाल हुन्छ : माधव नेपाल

जनकपुर । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले निर्वाचनपछि एमाले चोइटिएर जाने बताउनुभएको छ ।

बिहान जनकपुरधामस्थित पार्टी कार्यालय उद्घाटनको क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले चुनावपछि एमालेको अवस्था बिजोग र बेहालको अवस्थामा पुग्ने बताउनुभयो ।

अहिले ७ मध्ये २ वटा प्रदेशमा आफ्नो पार्टीका मुख्यमन्त्री रहेको भन्दै उहाँले आफ्नो पार्टी एमालेभन्दा कमजोर नरहेको दावी गर्नुभयो ।

कर्णाली प्रदेशमा ओलीको पार्टीलाई धुलो चटाईने भन्दै उहाँले भन्नुभयो,‘नेकपा एसको शक्ति देखेर केपी ओली आत्तिएका छन्, ओलि छटपटाएर गालीगलौजमा उत्रेका छन्, तर हामी आफ्नो काममा मात्रै केन्द्रित छौं।’

एमालेभन्दा आफ्नो पार्टीको मधेसप्रतिको धारणा राम्रो रहेको भन्दै उहाँले भन्नुभयो, ‘म आफै मधेसमा जन्मेको हुँ, मधेसी जनतालाई विश्वासमा लिएर हामी अगाडि बढ्दै छौं।’

उहाँले प्रदेश २ को नाम र राजधानीको विषयमा आफ्नो पार्टीमा छलफल नभएको बताउनुभएको छ । यद्यपी उहाँले पर्सादेखि सप्तरीसम्मको बीचमा जनकपुरधाम पर्ने भएकाले राजधानीका लागि जनकपुरधाम नै उपयुक्त हुने तर्क गर्नुभयो ।

Back to top button