एमाले महाधिवेशन : अझै शुरु हुन सकेन दोस्रो दिनको बन्दसत्र

सौराहा । नेकपा एमालेको जारी १० औं महाधिवेशनको बन्दसत्र आज दोस्रो दिन अझै शुरु हुन सकेको छैन । बन्दसत्रको पहिलो दिन हलले पदाधिकारी, केन्द्रीय सदस्य तथा सवै उम्मेदवार तयार गर्ने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सुम्पेपछि अधिवेशनको रौनक घटेको छ ।

उम्मेदवारहरुका उत्साह कम देखिएको छ । आकांक्षीहरुलाई आफु केन्द्रीय कमिटीमा पर्छु कि पर्दिन तथा कुन तहमा पर्छु भन्ने अन्यौलता छाएको छ । बन्दसत्रको हल बाहिर भर्खर सामान्य चहलपहल शुरु भएको छ ।

यद्यपी अध्यक्ष ओली भने कार्यसमितिको लिष्ट तयार पारेर कतिबेला हल प्रवेश गर्नुहोला भन्ने ब्यग्र प्रतिक्षामा देखिन्छन् । यता अध्यक्षको उम्मेदवारी घोषणा गर्नुभएका उपाध्यक्ष भीम रावलले असन्तुष्टि जनाउँदै पछि नहट्ने बताएपछि उहाँलाई समेत बनाउन संस्थापन पक्षले प्रयत्न गरिरहेको छ ।

संस्थापन पक्षका नेता हिक्मत कार्कीले अहिलेसम्म दोस्रो दिनको बन्दसत्र शुरु भइनसकेको भन्दै सर्वसहमतमै नेतृत्व टुङ्गिने बताउनुभएको छ । उहाँका अनुशार भीम रावल र घनश्याम भुसालसहितका असन्तुष्ट नेताहरुलाई साविककै पद दिएर अध्यक्ष ओलीले नाम घोषणा गर्नसक्ने सम्भावना समेत छ ।

अहिलेसम्म दोस्रो दिनको बन्दसत्र प्रारम्भ हुन नसक्दा निर्वाचन प्रकृयामा जाने अवस्था आए महाधिवेशन लम्बिन सक्ने सम्भावना पनि बढ्दै गएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रदेश १ का सचिव विनोद ढकालले सर्वसहमत नेतृत्व टुङ्गिने सम्भावना बढी रहेको भन्दै नमिलेका पदहरुमा निर्वाचन हुनसक्ने बताउनुभएको छ ।

Back to top button