विद्यार्थीमा संक्रमण देखिएपछि विद्यालय बन्द,एकै दिन २५ जनामा कोभिड संक्रमण पुष्टि

बागलुङ । बागलुङमा कोभिड संक्रमणदर पुनः उकालो लाग्न थालेको छ । बिहीबारमात्रै बागलुङमा एकै विद्यालयका २५ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । त्यस्तै समुदायस्तरमा बिहीबार नै तीन जनामा कोभिड संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

बागलुङ नगरपालिकाको बलेवास्थित एक विद्यालयमा कोभिडको लक्षणपछि ८२ जनाको परीक्षण गर्दा एकसाथ २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । उक्त विद्यालय व्यवस्थापन समितिको निर्णयानुसार अर्को सूचना जारी नभएसम्मका लागि विद्यालय बन्द गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार विद्यालयमा पुनः शुक्रबार थप विद्यार्थीको कोभिड परीक्षणपछि मात्रै विद्यालयको नाम खुलाइने छ ।

घिमिरेका अनुसार विद्यालय भएको समुदायको तीन जनामा समेत कोभिड पुष्टि भएकाले धेरै मात्रमा समुदायमा कोभिड संक्रमित रहेको स्वास्थ्य कार्यालयको अनुमान छ ।

Back to top button