आजदेखि नेदरल्याण्ड्समा लकडाउन घोषणा‚ लण्डनमा पनि हुँदैछ तयारी

काठमाडौं । कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फैलिएसँगै विभिन्न देशले लकडाउन गर्न सुरु गरेका छन्। कोरोनाविरुद्धको खोप लगाएपछि लकडाउन अन्त्य गरेका विभिन्न देश पुनः लकडाउनमा फर्किन लागेका हुन्।

नेदरल्याण्ड्सले आजदेखि लागू हुने गरी कडा लकडाउनको घोषणा गरेको छ। नेदरल्याण्ड्सका प्रधानमन्त्री मार्क रुटले कोरोना संक्रमण बढ्दै गएको भन्दै लकडाउनको घोषणा गर्नुभएको हो । लकडाउनसँगै अब त्यहाँ जनवरी १४ सम्म सामाजिक दूरीका राखिने छ ।

त्यस्तै‚ त्यहाँ अब भिडभाड गरेर न्यूएयर तथा न्यूएयर इभका कार्यक्रमहरु गर्न पाइने छैन। सबै विद्यालयहरु जनवरी ९ सम्मका लागि बन्द हुनेछन्। खेलकुद कार्यक्रमहरु पनि अर्को सूचना नभएसम्मका लागि बन्द गरिएका छन्।

त्यसैगरी बेलायतको लण्डनमा पनि लकडाउन गर्ने तयारी थालिएको छ। पछिल्ला २ दिनमा लगातार रेकर्ड संख्यामा संक्रमितहरु भेटिएपछि लण्डनका मेयर सादिक खानले लकडाउन गर्न छलफल अघि बढाउनुभएको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा विश्वभर ५लाख ३८ हजार कोरोना संक्रमित थपिएका छन् ।

Back to top button