कांग्रेसको नव निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक शनिबार बस्ने

काठमाडौं । नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक पुस १० गते शनिबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।

केन्द्रीय कार्यसमिति बैठक अघि भोलि कांग्रेसको केन्द्रीय निर्वाचन समितिले नवनिर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको छ । आज सबै केन्द्रीय सदस्यहरुको मतपरिणाम आइसक्ने छ ।

अब आदिवासी जनजाती र खसआर्यतर्फ केन्द्रीय सदस्यहरुका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक हुन बाँकी छ । मंसिर २४–२७ सम्म भएको कांग्रेसको १४ औं महाधिवेशनमा १ सय ३४ पदका लागि निर्वाचन भएको थियो ।

संघीय संरचना अनुसार तयार भएको कांग्रेसको नयाँ विधान अनुसार १ सय ६७ सदस्यीय केन्द्रीय कार्यसमिति बन्नेछ । जसमध्ये १ सभापति, २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्रीसहित १ सय ३४ सदस्य निर्वाचित हुनेछन् भने कोषाध्यक्ष र ३३ जना थप केन्द्रीय सदस्य पनि मनोनित गर्नुपर्ने विधानमा ब्यवस्था छ ।

Back to top button