सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनको वैठक आज बस्दैछ । स्थानीय तहको निर्वाचनका विषयमा केन्द्रित हुँदै बैठक बस्न लागेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकबाट संविधानसँग बाझिएका कानुन संशोधन गर्ने विधि र प्रक्रिया तथा स्थानीय तहको निर्वाचनबारे निर्णय लिइने बालुवाटार स्रोतले बताएको छ। स्रोतका अनुसार आजको बैठकले स्थानीय तहको निर्वाचन बारेको अहिलेसम्मको अन्योल चिर्ने सम्भावना छ।

हिजोसमेत भेट गर्नुभएका प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनको मिति र ऐन संशोधनलगायत विषयमा छलफल गर्नुभएको थियो ।

सोही छलफललाई आज बस्ने बैठकले टुंगो लगाउने भएको बुझिएको छ। निर्वाचन आयोगले वैशाखमै निर्वाचन गर्ने गरी मिति तोक्न पटकपटक राय दिँदा पनि सत्ता गठबन्धनले सहमति जुटाउन सकेको छैन भने सहमति नजुट्दा स्थानीय तहको निर्वाचनको मिति समेत घोषणा हुन सकेको छैन ।

सत्ता गठबन्धन स्थानीय तहको निर्वाचन पछि धेकल्दै मंसिरमा एकैपटक तीन तहको निर्वाचन गर्ने तयारीमा जुटेको छ । सत्ता गठबन्धनमा सहभागी पाँच दलमध्ये नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले स्थानीय तहभन्दा अगाडी संघीय र प्रदेशसभाको निर्वाचन गर्नुपर्ने तर्क राख्दै आएका छन् ।

तर सरकारको नेतृत्व गरिरहेको प्रमुख दल नेपाली कांग्रेसभित्र भने बैशाखभित्रै स्थानीय तहको निर्वाचन गर्नुपर्ने आवाज उठ्दै आएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा गठबन्धनकै निर्णयको आधारमा अघि बढ्न खोजेपनि उहाँलाई पार्टीभित्रबाट भने वैशाखभित्रै स्थानीय तहको निर्वाचन गर्न दबाब बढ्दै गएको छ ।

वैशाखमा स्थानीय तहको निर्वाचन हुने गरी मिति घोषणा नगरिए देउवामाथि फेरि ‘अक्षम’ को ‘बिल्ला’ लाग्ने किसिमले प्रचार गर्न थालिएको छ। २०५८/२०५९ सालमा देउवा प्रधानमन्त्री हुँदा नै स्थानीय तहको निर्वाचन गर्न उनी असफल भएका थिए।

बैशाखभित्र स्थानीय तहको निर्वाचन नगर्दा सत्ता गठबन्धन नै असफल हुने चर्चा भएसँगै पाँचदलका शीर्ष नेताहरु स्थानीय तहको निर्वाचनलाई लिएर संवेदनशील बन्न बाध्य भएका छन् ।

Back to top button