
काठमाडौं । अमेरिकाको माथिल्लो सदन सिनेटले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अपराधी घोषणा गरेको छ।
माथिल्लो सदन सिनेटले हिजो युक्रेनमा रुसले गरेको आक्रमणलाई लिएर पुटिनको निन्दा गर्दै उहाँलाई युद्ध अपराधी घोषणा गर्नेसम्बन्धी प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको हो।
सिनेटले हेगमा रहेको अन्तर्राष्ट्रिय फौजदारी अदालतलाई युक्रेनमाथि आक्रमण गर्ने निर्णयका सम्बन्धमा पुटिनलाई मुद्दा चलाउन अपिल पनि गरेको छ।
सिनेटमा मतदानपूर्व डेमोक्रेटिक सिनेट नेता चक शुमरले सम्बोधन गर्दै युक्रेनमा गरेको अत्याचारका लागि पुटिनलाई जवाफदेही बनाउनुपर्ने बताएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।
यस्तै, रिपब्लिकन पार्टीका सिनेटर लिण्ड्सी ग्राहमले पुटिनको निन्दा गर्नेसम्बन्धी विधेयकलाई स्पोन्सर गर्नुभएको हो । उहाँले अबको काम अरु युरोपेली साझेदार देशहरुलाई पनि पुटिनलाई युद्ध अपराधी घोषणा गर्ने प्रक्रियामा ल्याउनु रहेको बताउनुभएको छ ।