
विराटनगर । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले विराटनगर महानगरमा तयारी तिब्र पारेको छ ।
निर्वाचनलाई लक्षित गर्दै महानगरका १९ मध्ये १७ स्थानीय तहमा प्रचार कार्यलय स्थपना गरिसकेको एमालेले बाँकी दुई वडामा पनि दुईदिन भित्रै कार्यालय स्थापना हुने महानगरका अध्यक्ष सागर थापाले बताउनुभयो ।
आज मात्रै विराटनगर ११ नम्बर कमिटीले कार्यालय स्थापना गरेको छ । उक्त कार्यालयको नेकपा एमाले स्थायी कमिटी सदस्य लालबाबु पण्डितले उद्घाटन गर्नु भएको छ ।
कार्यालय उद्घाटन गर्दै उहाँले आगामी स्थानीय तहको निर्वाचनमा एमालेले जिते मात्रै विराटनगर सम्वृद्ध बन्ने बताउनु भयो । उहाँले अहिलेको नेतृत्वले विराटनगर महानगरमा विकास गर्न नसकेको भन्दै फेरी पनि कांग्रेस नेतृत्व आए विराटनगर १० औँ वर्ष पछि पर्ने बताउनु भयो ।
कार्यालय उद्घाटन अघि प्रभातफेरी गरिएको थियो । प्रभातफेरीको उद्घाटन गर्दै नेकपा एमाले विराटनगरका अध्यक्ष सागर थापाले विकास र सम्वृद्धिको नेतृत्व एमालेले गर्न चाहेको बताउनु भयो ।
महानगरका मेयर भीम पराजुली मात्रै नभइ काँग्रेस नै ‘भिजन’ विहिन रहेको बताउनुभयो । उहाँले ‘भिजन’विहिन नेतृत्वको कारण विराटनगरका जनताले दुख पाएको समेत बताउनुभयो । यस्तै विराटनगर महानगरका विभिन्न वडाहरुमा घरदैलो अभियान समेत सुरु गरेको छ ।