गुरुङ र लुङ्गेली दुबै उम्मेदवारी फिर्ता गर्न सहमत

इलाम । नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला सचिव उमेश गुरुङ र माओवादी केन्द्र प्रदेश परिषद् सदस्य भक्त लुङ्गेलीले दर्ता गराएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिने हुनुभएको छ । उहाँहरूले आफूले दर्ता गरेको मनोनयन फिर्ता लिने बारेमा सहमत भएको बताउनुभयो।

गुरुङले सन्दकपुर गाउँपालिका र लुङ्गेलीले माई नगरपालिका प्रमुखमा उम्मेदवारी दर्ता गराउनुभएको थियो। लुङ्गेली यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट माई नगर प्रमुखको उम्मेदवार हुनुहुन्थ्यो।

निर्वाचनमा उहाँले १ हजार ८ सय ४७ मत पाउनुभएको थियो । सन्दकपुर गाउँपालिकामा एमालेले गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा पार्टी जिल्ला उपाध्यक्ष उदयबहादुर राईलाई नै पुनः अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको थियो।

माईमा ५ दलीय गठबन्धनको तर्फबाट माओवादी केन्द्रका नगर अध्यक्ष धनकुमार लिम्बुलाई अघि सारिएको थियो। सत्ता गठबन्धनभित्र माई नगरका प्रमुख र उपमेयर लगायतका पदमा सहमति भएको भनिए पनि नगर प्रमुख पदमा चाहिँ गठबन्धनभित्रकै नेकपा एकीकृत समाजवादी नगर अध्यक्ष अनिल तामाङ, नेपाली कांग्रेसका नगर सचिव गंगाराम काफ्ले (अर्जुन) र जनता समाजवादी पार्टीका टुपेन्द्रकुमार एक्तेनले समेत उम्मेदवारी दिनुभएको छ ।

गठबन्धनका दलभित्र उम्मेदवारी फिर्ता गराउने बारेमा छलफल अघि बढाइएको जनाइएको छ।

Back to top button