मजदुर आन्दोलनको गौरवशाली इतिहास एमालेसँग छः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मजदुर दिवसको गौरवशाली इतिहासको विरासत एमालेसँग रहेको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले आफ्नो सरकारले मजदुर वर्गको हकहितका लागि थुप्रै काम गरेको उल्लेख गर्नुभएको छ ।

‘राणशाहीलाई श्रमजीवी जनतासँग सम्झौता गर्न बाध्य पार्ने त्यस आन्दोलनको गौरवशाली विरासत हाम्रो पार्टी नेकपा (एमाले) सँग छ’अध्यक्ष ओलीले शुभकामना सन्देशमा भन्नुभएको छ,‘हाम्रो पार्टीको वैचारिक मार्गदर्शनमा क्रियाशील नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) त्यही गौरबशाली आन्दोलनको वाहक नेपालको पहिलो मजदुर आन्दोलनको निरन्तरता हो ।

अध्यक्ष ओलीद्धारा जारी शुभकामना सन्देशको पूर्ण पाठः

मे १, अन्तर्राष्ट्रिय श्रमिक दिवस २०२२ को अवसरमा स्वदेश तथा विदेशमा कार्यरत सम्पूर्ण श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

हामीले वितेका १ सय ३२ वर्षदेखि मे १ का दिन अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउँदै आएका छौँ । काम गर्नेमाथि काम लगाउनेहरुको ज्यादतिका विरुद्ध सन् १८८६ मा अमेरिकाको सिकागोमा पहिलो संगठित मजदुर आन्दोलन भएको थियो । त्यस आन्दोलनमाथि भएको चरम दमनको स्मरण गर्दै आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आरामको माग सहित सन् १८९० देखि विश्वभरी श्रमिक दिवस मानाउँदै आएका छौँ ।

पहिलो पटक वाष्प इन्जिनको आविस्कार र औद्योगिक युग सुरु भएपछि फ्रान्सको लियोँ शहरमा सन् १८३१ मा पहिलो मजदुर आन्दोलन भएको थियो । त्यसको ८८ वर्षपछि सन् १९१९ मा अन्तर्राष्ट्रिय श्रम संगठन बन्यो । त्यसको ४७ बर्षपछि मात्र नेपालले त्यसमा प्रवेश पायो । श्रमिक, रोजगारदाता र सरकारको त्रिपक्षीय संलग्नता रहने अन्तर्राष्ट्रिय श्रम संगठनको नेपाल कार्यालय नेकपा (एमाले) नेतृत्वको अल्पमतको सरकार बनेपछि स्थापना भयो ।

नेपालमा विसं २००३ सालमा पहिलो संगठित मजदुर आन्दोलन सुरु भयो । राणशाहीलाई श्रमजीवी जनतासँग सम्झौता गर्न बाध्य पार्ने त्यस आन्दोलनको गौरवशाली विरासत हाम्रो पार्टी नेकपा (एमाले) सँग छ । हाम्रो पार्टीको वैचारिक मार्गदर्शनमा क्रियाशील नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) त्यही गौरबशाली आन्दोलनको वाहक नेपालको पहिलो मजदुर आन्दोलनको निरन्तरता हो । एशियाका प्रभावशाली ट्रेड युनियनहरु मध्येमा गणना हुने जिफण्ट नेपालमा राष्ट्रिय मान्यता प्राप्त सबैभन्दा प्रतिनिधिमुलक शसक्त पहिलो ट्रेड युनियन महासंघ हो ।

नेकपा (एमाले) त्यस्तो पार्टी हो, जसको सरकारले औद्योगिक प्रतिष्ठान र श्रमिकहरुका सरोकारहरुलाई सम्बोधन गरी सुस्थिर औद्योगिक वातावरण र श्रमिकको सुरक्षित तथा सम्मानित जीवनको सुनिश्चित गर्ने काम गर्‍यो । हाम्रो पार्टीको अगुवाईमा संविधानसभाद्वारा निर्मित नेपालको संविधानले मौलिक हक र कर्तव्यमा श्रमिकका अधिकार सुनिश्चित गरेको छ । नयाँ श्रम ऐन मार्फत श्रमजीवी वर्गको सामाजिक सुरक्षा र रोजगारदाताहरुका लागि लचकतायुक्त श्रम बजारको सुनिश्चितता गरी हाम्रो पार्टीले औद्योगिक क्षेत्रमा अनावश्यक हड्ताल र संघर्ष गर्नु नपर्ने अवस्था सिर्जना गरेको छ ।

नेपालको श्रमिक आन्दोलनले यस दिवसलाई श्रमिकहरुको सम्मानित, सुरक्षित र समृद्ध जीवन प्राप्तिको उपलब्धिका रुपमा मनाउन पाएको छ । विगतका वर्षमा हाम्रो सरकारले उद्यमी तथा श्रमिक दुबै पक्षबीच उच्च समझदारी कायम गरेको थियो । त्यही समझदारीका कारण श्रमिकको न्यूनतम पारिश्रमिक इतिहासमै उच्च, ३९ प्रतिशतले बृद्धि भएको थियो । त्यसले नियमितजसो औद्योगिक द्वन्द्वको पीडा झेलिरहेको नेपाली श्रम क्षेत्रमा हडताल र तालाबन्दीको समस्या अन्त्य भएको थियो । फलस्वरुप हाम्रो अर्थतन्त्रले तीब्र विकासको लय समातेको थियो । हाम्रै सरकारले श्रमिकको पारिश्रमिक बैंकमार्फत भुक्तानी गर्ने र काम गर्दाको समयमा वा सेवा निवृत्त भएपछिको जीवनलाई सुरक्षित गर्न योगदानमा आधारित सामाजिक सुरक्षाको शुरुवात गर्‍यो । कोभिड–१९ महामारीको बेला सामाजिक सुरक्षा कोषमा आवद्ध सम्पूर्ण श्रमिकहरुको आयमा कमी नआओस् भनेर नै प्रत्येक श्रमिकको योगदान बराबरको रकम सरकारले नै कोषमा जम्मा गरिदिने व्यवस्था गर्‍यो ।

यस बीचमा संवैधानिक संस्थाहरुलाई असंवैधानिक रुपमा दुरुपयोग गरी नेकपा (एमाले)लाई सरकारबाट हटाइयो । यसले सम्मानित, सुरक्षित श्रम जीवन, स्वस्थ नागरिक, सीपयुक्त नागरिक, मर्यादित काम र सामाजिक सुरक्षातर्फ केन्द्रित हाम्रा पाइलामा अवरोध पुर्‍यायो । सामाजिक परिवर्तन, आर्थिक विकास र सुनिश्चित श्रम जीवन निर्माणको हाम्रो गन्तव्यमा परमादेशको दुश्प्रयासले अल्पविराम लगाए पनि यसले हाम्रा पाइलाहरुलाई सधैंका लागि रोक्न सक्ने छैन । आसन्न स्थानीय तहको र निकट भविष्यमा आउने संसदीय निर्वाचनबाट जनताको बलियो समर्थन सहित नेकपा (एमाले)लाई तीनै तहका सरकारमा पुनर्स्थापना गर्दै हामी राष्ट्रको यस अभिभारालाई पूरा गर्ने छौँ । यस वर्षको अन्तर्राष्ट्रिय श्रमिक दिवसको जिफण्टको नारा– ‘हाम्रो मत सूर्यमा, श्रमशक्तिको विकास र समृद्धिको पक्षमा’ सामयिक छ । यसले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न सम्पूर्ण श्रमिक दिदीबहिनी तथा दाजुभाइहरुको साथ रहने कुरालाई अभिव्यक्त गरेको छ भन्ने मेरो विश्वास छ ।

अन्त्यमा, अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, सुख र समृद्धि तथा सम्मानित जीवनको पुनः शुभकामना व्यक्त गर्दछु ।

१८ बैशाख २०७९ केपी शर्मा ओली
(१ मे २०२२) अध्यक्ष

Back to top button