कर्णालीमा मन्त्रिपरिषद् विस्तारः माओवादीबाट ३ र एमालेबाट २ मन्त्री

दैलेख । कर्णाली प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । झण्डै तीन सातापछि मन्त्रिपरिषद् विस्तार भएको हो । गत चैत्र २७ मा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थनमा एमालेका नेता यामलाल कँडेल मुख्यमन्त्री बन्नुभएको थियो ।

नेता कँडेल मुख्यमन्त्री बनेको तीन सातापछि मन्त्रिपरिषद् विस्तार भएको हो । आज मुख्यमन्त्री कँडेलले ६ मन्त्री र १ राज्यमन्त्री नियुक्ती,हेरफेर र कार्य विभाजन गरि मन्त्रिपरिषद् गठन गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्नुभएको थियो । जसमा माओवादीका ३ र एमालेबाट २ मन्त्रीसहित १ राज्यमन्त्री छन् ।

यसअघि माओवादीबाट बिनाविभागीय मन्त्रीका रूपमा रनसिंह परियारले शपथ लिइसक्नुभएको थियो । उहाँलाई जलस्रोत तथा ऊर्जा विकास मन्त्रीको जिम्मेवारी दिइएको छ । ८ मन्त्रालय रहेको कर्णालीमा सत्ता साझेदार दल माओवादीले ४ र एमालेले मुख्यमन्त्रीसहित ४ मन्त्रालय लिने गरी सहमति भएको थियो ।

आज माओवादीबाट आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसी, सामाजिक विकासमन्त्री वीरबहादुर शाही,उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दुर्गहादुर रावतले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो ।

यस्तै, एमालेबाट भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री शेरबहादुर बुढा र भौतिक पूर्वाधार तथा सहरी विकास राज्यमन्त्रीमा गमता विश्वकर्माले शपथ लिनुभएको हो । नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख तिलक परियारसमक्ष र राज्यमन्त्रीले मुख्यमन्त्रीसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

मुख्यमन्त्री कँडेलले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारीमा सिफारिस गर्नुभएका विनोदकुमार शाहले भने शपथ ग्रहण गर्नुभएन् । शाहको सचिवालय स्रोतका अनुसार भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्रीको जिम्मेवारी नदिए पछि शाह असन्तुष्ट बन्नुभएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री भने मुख्यमन्त्री कँडेल आफैंले राख्नुभएको छ ।

Back to top button