आज सेयर बजारमा सामान्य वृद्धि, १ अर्ब ३९ करोडको कारोबार

काठमाडौं । साताको दोस्रो दिन आज नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ। साताको पहिलो कारोबारको दिन हिजो १७.९५ अंक बढेको नेप्से आज पनि वृद्धि भएको हो।

आज नेप्से परिसूचक १२.२७ अंक बढेर २२६८.८४ विन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.१२ अंक, फ्लोट इण्डेक्स ०.९२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९४ अंकले बढेको छ।

आज कारोबारमा आएका २२२ कम्पनीको ३३ लाख २४ हजार कित्ता शेयर १ अर्ब ३९ करोड ६ लाख ७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। हिजो १ अर्ब ३२ करोड ६४ लाख २१ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। हिजोको तुलनामा आज कारोबार रकम पनि सामान्य वृद्धि भएको छ।

नेप्सेका १३ वटा उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ४ उपसमूहको परिसूचकमा गिरावट आएको छ। जसमा व्यापार उपसमूह सबैभन्दा बढी १.७४ प्रतिशत बढेको छ।

त्यस्तै, लघुवित्त उपसमूहको परिसूचक १.३३ प्रतिशतले वृद्धि भएको छ। बैंकिङ्ग, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन , जलविद्युत, अन्य उपसमूह र वित्त उपसमूहको परिसूचक शून्य प्रतिशतभन्दा बढीले बढेको छ। तर यता जीवन बीमा, होटल तथा पर्यटन, विकास बैंक र लगानी उपसमूहको सूचकमा गिरावट आएको छ।

आज जाल्पा लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, महुली लघुवित्तको शेयरमूल्य ७.७७ प्रतिशत बढेको छ। यता हिमालयन उर्जा विकास कम्पनी, स्वरोजगार लघुवित्तको शेयरमूल्य ३ प्रतिशतभन्दा बढीले गिरावट आएको छ।

आज कारोबार रकमका आधारमा ७ करोड ८३ लाख ५३ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ। एनआईसी एशियाको ५ करोड ४ लाख रुपैयाँ शेयर कारोबार भएको छ।

Back to top button