देश भ्रमणमा नेपाली फिल्म ‘कबड्डी ४’का टिम

काठमाडौं । जेठ १३ देखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘कबड्डी ४’ को प्रचार–प्रसारलाई तिब्र बनाइएको छ। फिल्मका कलाकार तथा निर्माण टोली आजदेखि देशका विभिन्न सहरमा जाँदैछन्।
आज कबड्डी टिम झापाको दमक जाँदै छ। त्यस्तै भोलि इटहरी, बुधबार नारायणघाट, बिहिबार बुटवल र शुक्रबार पोखरा जाँदैछ। भ्रमणको क्रममा कबड्डी टिमले दर्शकहरूसँग भेटेर कुराकानी गर्नेछ।
सो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, पुष्कर गुरुङ, माओत्से गुरुङ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। फिल्मलाई निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले संयुक्त रुपमा लेख्नुभएको हो ।
यस्तै, रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्म यस वर्षको सबैभन्दा प्रतिक्षित फिल्म हो। कबड्डी फ्रेन्चाइजका यसअघिका फिल्मलाई दर्शकले निकै मन पराएका थिए। कबड्डी व्यवसायिक रुपमा सबैभन्दा सफल नेपाली फिल्म सिरिज पनि हो। सफल सिरिजको अन्तिम फिल्म भएकाले पनि ‘कबड्डी ४’ लाई लिएर दर्शकमा उत्साह बढेको छ।
फिल्मको ट्रेलर, टिजर र एउटा गीत सार्वजनिक भइसकेको छ । जसले दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाएको छ। ‘कबड्डी ४’ लाई कोरोना महामारीपछि  प्रदर्शनमा आउन लागेको सबैभन्दा ठूलो नेपाली फिल्मको रुपमा हेरिएको छ। बक्स अफिसमा पनि यसले धेरै किर्तिमान बनाउने अनुमान गरिएको छ।

Back to top button