नेपाल युगान्डासँग आज दोस्रो खेलमा पनि पराजित

काठमाडौं । पाँच खेलको टी–२० सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपाल युगान्डासँग पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल युगान्डासँग एक विकेटले पराजित भएको हो।

युगान्डाले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १०१ रन बनाएको थियो। नेपालका लागि विन्दु रावलले २६, सरिता मगरले २२, कप्तान रुविना क्षेत्रीले १७ र डली भट्टले ९ रन बनाउनुभयो।

बलिङतर्फ युगान्डाकी जनित एमबाबाजीले दुई तथा एभेल्नी एनीपो, कोन्सी अवे र रिता मुसामालीले समान एक विकेट लिनुभयो।

१०२ रनको सामान्य लक्ष्यसहित जवाफी व्याटिङ गरेको युगान्डाले एक बल बाँकी छँदै ९ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। युगान्डाका लागि रिता मुसामालीले ३०, फ्र्यांकलिन नाज्जुम्बाले १९ र जनित एमबाबाजीले १६ रन जोड्नुभयो।

यस्तै, नेपालका लागि कविता कुँवर र सबनम राईले दुई–दुई तथा सीता राना मगर र रुविना क्षेत्रीले एक–एक विकेट लिनुभयो।

Back to top button