सुनवर्षी नगरपालिकाको प्रमुख– उपप्रमुखमा एमाले विजयी

विराटनगर । मोरङको सुनवर्षी नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा नेकपा एमालेले जितेको छ । प्रमुख (मेयर) मा एमालेका श्याम राजवंशी र उपप्रमुख (उपमेयर)मा एमालेकै मिरादेवी दास विजयी हुनुभएको हो ।

मेयरमा राजवंशीले नेपाली काग्रेसका यज्ञ कार्कीलाई १ हजार ६ सय ८७ मतले पछि पार्दै निर्वाचित हुनुभएको हो । राजवंशीले ८ हजार ६ सय ३९ मत पाउँदा कार्कीले ६ हजार ९ सय ५२ मत पाउनुभयो ।

यस्तै उपमेयरमा मिरादेवीले ८ हजार ३ सय ८३ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी बिमला देवी दासले ७ हजार ४ सय २७ मत पाउनुभयो ।

नेपाली कांग्रेसका तत्कालिन सभापति तथा पूर्व प्रधानमन्त्री स्व.गिरिजा प्रसाद कोइरालाको चुनावी क्षेत्रमा पर्ने सुनवर्षी नगरपालिका २०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले जितेको थियो । यस नगरपालिकालाई कांग्रेसले पकड क्षेत्र मान्दै आएको थियो ।

९ वटा वडा रहेको सुनवर्षीमा मेयर र उपमेयरसहित एमालेले ४ ओटा वडा जितेको छ भने कांग्रेसले ४ र माओवादीले १ वडा जितेको छ ।

Back to top button