भारतबाट धार्मिक पर्यटक बोकेर आएको भारतीय रेल जनकपुरमा

जनकपुर । भारतबाट धार्मिक पर्यटक बोकेर आएको भारतीय रेल मधेश प्रदेशको राजधानी जनकपुरधाम आइपुगेको छ । ‘भारत गौरव एसी पर्यटक’ नामक रेल आज दिउँसो जनकपुरधाम रेल्वे स्टेशनमा आइपुगेको हो ।

भारतको राजधानी नयाँ दिल्लीबाट गत मंगलबार साँझ छुटेको यो रेल रामायण सर्किटअन्तर्गत नन्दीग्राम, बनारस, प्रयागराज, चित्रकुट, नासिक, हम्पी, रामेश्वरम् अयोध्या, सितामढी, जयनगर हुँदै जनकपुरधामको रेल्वे स्टेशनमा आइपुगेको हो ।

रेल आएपछि भारतीय पर्यटकलाई मुख्यमन्त्री लालबाबु राउत, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुद्यन महतो, जानकी मन्दिरका महन्थ रामतपेश्वर दासलगायतले स्वागत गर्नुभएको छ । भारतबाट आएको रेल र पर्यटकलाई हेर्नका लागि रेल्वे स्टेशनमा ठूलो घुइँचो लागेको छ ।

यस्तै, रेलमा ६ सय जना धार्मिक पर्यटक छन् । यी सबैलाई आज जनकपुरधाममा बास बस्ने व्यवस्था मिलाइएको छ । उनीहरुलाई जानकी मन्दिर, धनुषाधाम दर्शन गराउनुका साथै साँझको गंगा आरतीमा समेत सहभागी गराइनेछ ।

धर्मिक पर्यटकको स्वागत गर्न आउनुभएका मुख्यमन्त्री लालबाबु राउतले आजको दिन महत्वपूर्ण भएको बताउनुभयो । उहाँले रामायण सर्किटलाई जोड्न यो यात्राले सघाउ पुग्ने भन्दै प्रदेशको पर्यटकीय क्षेत्रको पनि विकास हुने बताउनुभयो ।

Back to top button