नेपालले क्यानडासँग एक दिवसीय खेल खेल्दै

काठमाडौं । नेपालले क्यानडामा दुई वटा एक दिवसीय खेल खेल्ने भएको छ । नेपालले असार १७ ओन्टारियोसँग एक दिवसीय अभ्यास खेल खेल्नेछ भने क्यानडासँग असार २० र २१ गते गरी दुईवटा खेल खेल्ने तालिका छ ।

नेपालले आईसीसी लिग २ अन्तर्गत स्कटल्याण्डमा हुने शृङ्खलाको तयारीस्वरुप यो खेल खेल्न लागेको हो । क्यानडामा द्विपक्षीय शृङ्खला खेलेर नेपाली टोली स्कटल्याण्ड जाने छ ।

स्कटल्याण्डमा नेपालले घरेलु टोलीसँग दुई र नामिबियासँग दुई गरी लिग–२ का ४ खेल खेल्ने छ । पहिलो खेल असार २७ गते नामिबियासँग हुने छ ।

अमेरिकामा भएको लिग–२ को ओमानसमेत सम्मिलित शृङ्खलामा १ खेल जितेको नेपालले २ खेल हारेको थियो भने एक खेल बराबरी गरेको थियो । लिग–२ मा अहिलेसम्म १६ खेल खेलेको नेपाल १५ अंकसहित तालिकाको पाँचौ स्थानमा रहेको छ ।

Back to top button