‘माधव नेपाल दुई सय वर्ष बाँच्नुहोस र पदमा रहिरहनुहोस’ : योगेश भट्टराई

विराटनगर । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई दुई सय वर्ष बाँच्न र पदमा रहिरहन शुभकामना दिनुभएको छ । आज सामाजिक सञ्जालमा कमरेड माधव नेपाल र म शिर्षकमा उहाँले राजनितिक सम्बन्धका बारेमा प्रष्ट्याउनुभएको छ ।

नेता नेपालले आफुहरु माथि पटक–पटक भद्धा र असिस्ट टिप्पणी गरेपनि आफूुहरुले नेता नेपालको सम्मानका लागि हामीले कुनै टिप्पणी नगरेको बताउनुभएको छ । फेरी पनि नेता नेपालले तल्लो स्तरमा झरेर बोलेको स्मरण गराउँदै आफूले उहाँकै हितका लागि जीवनोपयोगी जवाफ फर्काएको बताउनुभएको छ ।

आफूले दिएको जवाफले समाजवादीका युवाहरुको चित्त दुखेछ भन्दै उहाँले खुलेख्नुभएको छ, “कमरेड माधव नेपाल दुईसय बर्ष बांच्नुहोस्, पदमा रहिरहनुहोस्, शुभकामना ! ” नेता भट्टराईले दुईबिचको सम्बन्धका बिषयमा यसी ११ बुँदा प्रस्तुत गर्नुभएको छ ।

कमरेड माधव नेपाल र मेरो सम्बन्धका बारेमा केहि कुरा
१. पञ्चायतकालमा कमरेड रन्जनको उपनामले मैले कमरेड माधव नेपाललाई चिनेको हुँ । त्यतिबेला वहाँबाट थुप्रै प्रशिक्षण लिएको छु ।

२. वहाँमा थुप्रै राम्रा गुणहरु छन जसको खुलेर प्रशंसा गरेको छु भने कमजोरीको खुलेरै बिरोध गरेको छु । वहाँलाई चिनेदेखि वहाँ र मेरो सम्बन्धमा उतार चढाब रहेका छन र यो जारी रहने छ ।

३. नेकपा एमालेको पाँचौ महाधिवेशन (२०४९) मा वहाँ अन्तिम तिर मात्रै जनताको बहुदलीय जनबादका पक्षमा खुल्नु भएको हो । हामी शुरु देखिनै मदन भण्डारीको नेतृत्व र बिचारलाई स्थापित गर्न लागेका हौं ।

४. छैठौ महाधिवेशनमा वहाँ पार्टीको महासचिव हुनुभयो । मेरो समर्थन वहाँलाई थिएन ।

५. सातौँ महाधिवेशनबाट वहाँ पुन पार्टीको महासचिब हुनुभयो । मेरो समर्थन वहाँलाई थियो ।

६. आठौ महाधिवेशनमा वहाँले आफ्नो धार बदल्नु भयो । हामी वहाँसँग लागेनौ ।

७. नवौ महाधिवेशनमा वहाँ पुरनै धारमा फर्कनु भयो । अध्यक्षको उम्मेदवार हुनुभयो । हामीले साथ दियौं । जित्नु भएन ।

८. प्रधानमन्त्री केपी ओलीका बिरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्न भन्नुभयो मैले मानिन र गरिन ।

९. नेकपा एमालेको विभाजनको औचित्य छैन र यो नेपालको कम्युनिष्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्र हो भन्ने मेरो बुझाई रह्यो अलग पार्टी बनाउन वहाँलाई मैले साथ दिन सकिन । त्यसमा मलाई पछुतो छैन ।

१०. २०५३ सालमा म अखिलको अध्यक्ष थिएँ । राष्ट्रिय सम्मेलनबाट चुनिएको । वहाँ पार्टीको महासचिव । वहाँ र मेरो बिचमा समस्या उत्पन्न भयो । वहाँको दैनिक दवाव र असहयोगका कारण मैले अखिलको अध्यक्षबाट राजिनामा गरिदिएं ।

११. म मार्क्सवादी चेत भएको मानिस हुँ । मेरा गुरुहरुले मलाई ब्यक्ती, घटना र बिषयवस्तुलाई बुझ्ने आलोचनात्मक शिक्षा दिनुभएको छ । गुरुहरुप्रति मेरो सदा सम्मान छ । र मैले कमरेड माधव नेपाललगायत सबैलाई यहि मार्क्सवादी दृष्‍टिकोणबाट हेर्ने गर्द्छु । म कसैको अन्ध समर्थक र अन्ध बिरोधी होईन । पुनश्चः कमरेड माधव नेपालसंग सवाल जवाफ गर्नु मेरो मनसाय होईन ।

२०७९ असार १३ गते बिहान काठमान्डौ–धनगढी हवाई यात्राको क्रममा तयार छोटो स्मरण ।

Back to top button