महानगर भित्रको ‘कर्णाली’ : बिष्णु टोल 

विराटनगर महानगरपालिका र जहदा गाउँपालिका बीच सिमाना छुट्याएको सिंघिया खोलामा रहेको विराटनगर महानगरपालिका वडा-१४ स्थित बिष्णु टोलमा हाल सम्म बाटो र बिजुलीको पहुँच पुगेको छैन। बिगत ३५ बर्ष देखि भूमिहिन सुकुम्बासीहरुको बसोबास रहेको टोलमा जाने हालसम्म सरकारी बाटो नभएको कारणले बिजुलीको पोल समेत गाडिएको छैन।

विराटनगर वडा -१४ को सिमान्तमा पर्ने टोलमा रहेको २३ घरधुरी मध्य करिब १० वटा घरमा मात्रै शौचालय रहेको छ। लुमन्ती आवास नामक गैर सरकारी संस्थामा झन्डै १० घर जतिले शौचालय जडान गरेपनि पक्की शौचालय भन्दा पनि बाँसको छेस्काको बार लागिएको छ भने कुनैमा टिनको बार लागिएको छ।

खेतको छेउकुना तासेर बिष्णु टोलवासीले बनाएको बाटो बर्खायाममा डुब्ने हुँदा बिष्णु टोलमा बिद्यालय जाने उमेरका १३-१५ जना बिद्यार्थीहरु सुक्खायाममा मात्र बिद्यालय जाने गरेको स्थानीय बिष्णु प्राथमिक बिद्यालयका संस्थापक विश्वनाथ महतोले बताउनु भयो। बर्खाको पानीले गरेर बिष्णु टोलको व्यक्तिहरुलाई टोल बाहिर जान अफ्ट्यारो पर्ने भन्दै हाल बिष्णु टोल अगाडी रहेको बाटोमा महतोले आफ्नो र टोलवासीको पहलमा बाँसको पुल निर्माण गर्ने कार्य थाल्नु भएको छ।

महानगर क्षेत्र भित्र पर्ने भएपनि हालसम्म बिजुली सम्म पहुँच नभएको बिष्णु टोलमा बसोबास गरिरहेकाहरुले टोल देखि केहि पर बाट बिजुलीको तार टोल सम्म ताने पनि सबै घरमा सो बिजुलीको पहुँच भएको छैन। विराटनगर महानगरपालिका वडा -१४ का अध्यक्ष सुर्यनारायण महतोले केहि दुरीको स्थान बाट बिजुली ल्याए पनि सो बिजुली मोबाइल चार्ज गर्नेमा खपत हुने जानकारी दिनुभयो।

बिगतमा पंचायत देखिनै वडाध्यक्ष रहेका निवर्तमान वडाध्यक्ष बालदेव यादव यस अघिको चुनावमा भोट माग्न आउँदा आफुहरु संग किरिया खाएर बाटो र बिजुलीको समस्या समाधान गर्दिने बताए पनि जिते पछि फर्केर नआएको स्थानीय महतोले बताउनु भयो।यस पल्ट वडाध्यक्ष महतोले आफु हरुलाई बचन दिएकोले आफुहरु पूर्ण आशाबादी रहेको महतोले बताउनु भयो।

वडाध्यक्ष महतोले टोलमा कसैको सरकारी जग्गा नभएकोले बाटो बनाउन र बिजुलीको पोल गाड्न समस्या रहेको भएपनि आफुले हाल बाटो र पुलको लागि नगरस्तरीय निर्णय गर्न जोडबल लगाईरहेको दाबी गर्नुभयो। महतोले छिट्टै सो ठाउँमा काम सुरु गरेर एउटा फन-पार्क समेत स्थापना गर्ने आफ्नो योजना रहेको र फन-पार्क निर्माण भए संगै टोलवासीलाई रोजगारीमा समेत राहत हुने विश्वास लिएको बताउनु भयो।

Back to top button