करारको कर्मचारीको विषयमा अध्ययन गर्दै विराटनगर महानगरपालिका

विराटनगर । विराटनगर महानगरपालिकाले महानगरको विभिन्न शाखामा कार्यरत करारका कर्मचारीको विषयमा अध्ययन थालेको छ । महानगरले विभिन्न समयमा विभिन्न ‘सेटिङ्ग’मा जागिर खाइरहेकाहरुको विषयमा विषयमा अध्ययन सुरू गरेको हो ।

केन्द्रबाट समायोजन भएर स्थानिय तह आउने सरकारी कर्मचारी पर्याप्त सङ्ख्यामा नआउँदा करारमा कर्मचारी माग गरेर चलाउनुपर्ने अवस्था रहेको महानगरले आवश्यक नपर्ने कर्मचारीलाई पनि आन्तरिक स्रोत बाट तलब खुवाएर राखिरहेको छ ।

आन्तरिक स्रोत संकुचन रहेको महानगरले धेरै सङ्ख्यामा करारको कर्मचारी लाई तलब खुवाएर राखिरँहदा महानगरको ‘बेरूजु’ पनि बढ्दै गएको छ ।

महानगरको प्रमुख प्रशासकिय अधिकृत उमेश बस्नेतले करारको कर्मचारीको सन्दर्भमा महानगरको राजनितिक नेतृत्वले अध्ययन गरिरहेको र सोको अध्ययनको निष्कर्ष पछी उत्तम विकल्प रोजेर अघि बढ्ने बताउनु भएको छ ।

महानगरपालिकाको उपप्रमुख शिल्पा निराला कार्कीले भने महानगरले आर्थिक वर्ष २०७९/०८० लाई महानगरले ‘बेरूजु फर्छौट बर्ष’को रूपमा अघि बढाउने निर्णय गरेकोले पनि आवश्यक परे केही ‘बोल्ड’ निर्णय लिने बताउनु भएको छ ।

Back to top button