आज व्यवसायिक फुटबलका लागि सावित्रा भारत प्रस्थान

काठमाडौं । एएफसी वुमन्स क्लब च्याम्पियनसिपमा सहभागी हुन नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी आज भारत प्रस्थान गर्नुभएको छ ।

सावित्रा गत महिना भारतीय क्लब गोकुलम केरेला एफसीमा एक वर्षका लागि आबद्ध हुनुभएको थियो । दुई वर्षअघि सावित्राकै महत्त्वपूर्ण प्रदर्शनमा गोकुलमले महिला लिग‘आइडब्लू एफ’को उपाधि जितेको थियो। सावित्राले लिगका सबै खेलमा गोल गर्दै सनसनीपूर्ण प्रदर्शन गर्नुभएको थियो। उच्च गोलकर्ताको शीर्षस्थानमा रहेकी सावित्राले १६ गोल गर्नुभएको थियो।

सन् २०१९ मा पहिलोपटक सावित्राले सेथु एफसीबाट भारतमा व्यवसायिक फुटबल खेल्न शुरु गर्नुभएको थियो। गत वर्ष भने चोटका कारण लामो समय सावित्रा मैदान बाहिर रहानुभयो। २०७७ साल फागुनमा महिला लिगका दौरान घुँडामा चोट लागेपछि सावित्रा लामो समय मैदान बाहिर रहनुभएको थियो।

उहाँ लामो समय कतारमा उपचार गरेर स्वदेश फर्किएर मैदानमा सक्रिय रहनुभएको छ ।

अब सावित्राले गोकुलमबाट २० देखि २६ अगस्टमा हुने एएफसी वुमन्स क्लब च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नुहुनेछ । भारतको च्याम्पियन गोकुलमसँगै यो समूहमा उज्बेकिस्तानको सोग्दियाना, जोर्डनको अर्थडक्स क्लब र इरानको क्लब खातुन बाम एफसी रहनुभइको छ ।

Back to top button