प्रधानमन्त्री देउवाद्धारा लिज ट्रसलाई बधाई

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतको कन्जरभेटिभ पार्टीको नेताको रूपमा निर्वाचित भएकोमा लिज ट्रसलाई बधाई दिनुभएको छ ।

हिजो ट्रस कन्जरभेटिभ पार्टीको नेतामा निर्वाचित भएपछि प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्विटरमार्फत् उहाँलाई बधाई दिनुभएको हो ।

‘कन्जरभेटिभ पार्टीको नेताको रूपमा निर्वाचित भएकोमा म लिज ट्रसलाई हार्दिक बधाई दिन चाहन्छु जसले उनलाई बेलायतको प्रधानमन्त्री बनाउनेछ,’ प्रधानमन्त्री देउवाले लेख्नुभएको छ, ‘लामो समयदेखिको नेपाल–बेलायत सम्बन्धलाई अझ सुमधुर बनाउन उहाँसँग काम गर्न म तत्पर छु।’

विदेशमन्त्री लिज ट्रस सत्तारूढ कन्जरभेटिभ पार्टीको नेता चुनिएसँगै उहाँ बेलायतको प्रधानमन्त्री हुने निश्चित भएको हो। यससँगै बेलायतले झन्डै दुई महिनापछि नयाँ प्रधानमन्त्री पाउने भएको छ।

यस्तै, ४७ वर्षीया ट्रसलाई बेलायतकी महारानीले नयाँ प्रधानमन्त्रीको रूपमा आज नियुक्ति गर्नुहुनेछ ।

सुरुमा कन्जरभेटिभ पार्टीको दलको नेतामा ८ जनाले उम्मेदवारी दिए पनि अन्तिममा २ जनाबीच दलको नेताको लागि निर्वाचन भएको थियो। पार्टीको संसदीय दलको नेताका लागि पार्टी सदस्यहरूले गत शुक्रबार मतदान गरेका थिए।

हिजो प्राप्त अन्तिम नजितामा सुनाकाले ६० हजार ३ सय ९९ र ट्रसले ८१ हजार ३ सय २६ मत प्राप्त गर्नुभयो। खसेको कुल मतमध्ये ट्रसले ५७ दशमलव ४ प्रतिशत र सुनाकले ४२ दशमलव ६ प्रतिशत मत प्राप्त गर्नुभएको थियो ।

सन् २०१९ को आम निर्वाचनमा बहुमत ल्याएर प्रधानमन्त्री बन्नुभएका बोरिस जोन्सनविरुद्ध आफ्नै मन्त्रिपरिषद्का पाँच दर्जन सदस्यले विद्रोह गरेपछि प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य हुनुभएको थियो।

बेलायतमा बढ्दो मुद्रास्फीति तथा बैंक ब्याजदर, आर्थिक मन्दी, खाद्यान्न तथा ऊर्जामा उच्च मूल्यवृद्धि, युक्रेन–रुस युद्धलगायतका मुख्य चुनौती नयाँ प्रधानमन्त्री ट्रसले सामना गर्नु पर्ने छ।

यसअघि उहाँले आफू प्रधानमन्त्री बनेमा एक साताभित्र ऊर्जामा बढ्दो उच्च मूल्यवृद्धि घटाउने, राहतका प्याकेज घोषणा गर्ने बताउनुभएको थियो।

Back to top button