बेलायतकी महारानी एलिजाबेथलाई नेपालले सधै संझिरहनेछ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले आज शोक सन्देशमार्फत् महारानी एलिजाबेथको निधनको खबरले आफूलाई दुखित बनाएको बताउनुभएको हो ।

महारानी एलिजाबेथले कर्तव्य, सम्मान र सेवाको साथ आफूलाई प्रतिष्ठित गराएको प्रधानमन्त्री देउवाले सन्देशमा बताउनुभएको छ ।

महारानी एलिजाबेथले सन् १९६१ र १९८६ मा गरेको नेपालको महत्वपूर्ण राजकीय भ्रमणका लागि उहाँलाई नेपालमा मायापूर्वक सम्झिइने शोक सन्देशमा उल्लेख छ।

यस्तै, बेलायतमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहनुभएकी महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा गएराति बाल्मोरलमा निधन भएको हो । सन् १९५२ मा गद्दी सम्हाल्नुभएकी महारानी एलिजाबेथले ७० वर्षसम्म गद्दाशीन हुनुहुन्थ्यो।

महारानी एलिजाबेथको निधनपछि उहाँका जेठा छोरा चार्ल्स बेलायतका नयाँ राजा बन्नुभएको छ ।

Back to top button