नेपाललाई ४ वर्षमा विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने योजना छ: प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले १५ औं पञ्चवर्षीय योजनालाई कार्यान्वयन गर्न पूर्वाधार विकासलाई प्राथमिकता दिएको बताउनुभएको छ ।

आज काठमाडौंमा लगानी बोर्डले आयोजना गरेको दिगो पूर्वाधार लगानी फोरमको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले १५ औं योजनामा दिगो र हरित पूर्वाधार निर्माणमा खर्च गर्ने योजना बनाएको र अर्थतन्त्रको संरचनात्मक सुधारका लागि स्वदेशी, विदेशी र सरकारका तर्फबाट थप लगानी गर्न आवश्यक भएको बताउनुभयो।

उहाँले कोभिड महामारीका कारण दिगो विकासका लक्ष्य पूरा गर्न १९ अर्ब अमेरिकी डलर आवश्यक रहेको भन्दै सन् २०२६ सम्म विकासशील राष्ट्रमा स्तरोन्नति गरी आर्थिक विकासमा सुधार गर्ने योजना रहेको पनि बताउनुभयो। वर्तमान सरकारले लगानीको वातावरण तयार समेत गरिसकेकाले नेपालमा लगानी गरी फाइदा लिन उहाँले आग्रह गर्नुभयो।

यस्तै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले सातै प्रदेशमा ७ नमूना परियोजनामा लगानी ल्याउने गरि लगानी बोर्डले काम गरिरहेको जानकारी दिनुभयो।

Back to top button