प्रधानमन्त्री देउवाद्धारा जितिया पर्वको शुभकामना सन्देश

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको तराई क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका साथ मनाइने जितिया पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुस्वास्थ्य र दीर्घायूको शुभकामना व्यक्त गर्नुभएको छ ।

आश्विन कृष्ण अष्टमीका दिन विशेषगरी तराईवासी मधेसी र थारु महिलाहरूले जितिया पर्वलाई आफ्नो सन्तानको सुख, शान्ति र प्रगतिको कामनासहित मनाउने एउटा उत्साहजनक एवं विशिष्ट पहिचान भएको पर्व हो ।

उहाँले शुभकामना सन्देशमार्फत हाम्रा संस्कृति र संस्कारमा रहेका विशिष्ट पहिचानका विशेषतालाई जितिया पर्वले पनि समेटेको उल्लेख गर्नुभएको छ । साथै उहाँले यस पर्वले विविधताभित्र एकता र सामाजिक सद्भावलाई प्रवर्द्धन गर्नमा टेवा पुर्‍याएको बताउनुभयो ।

जितिया पर्व खासगरी आमाहरूले आफ्नो जीवित पुत्रहरूका लागि व्रत बस्ने हुनाले यसलाई जीवित पुत्र पर्वको रूपमा मनाइन्छ । महिलाहरू पानी समेत नखाई २४ घण्टासम्म भगवान जीतमहान गोसाईँको पूजा गरी कठोर व्रत बस्ने परम्परा रहिआएको छ । थारु समुदायमा झ्याम्टा नाचका साथ जितिया पर्व मनाइन्छ ।

यस पर्वले आमा र सन्ततीबीचको पारस्परिक सद्भाव, मातृत्वपूर्ण सम्बन्ध र सहिष्णुताको भावनालाई थप प्रगाढ र सुदृढ पार्न प्रेरणा प्रदान गरोस् भनी प्रधानमन्त्री देउवाले शुभकामना व्यक्त गर्नुभएको छ ।

Back to top button