वर्तमान सरकारविरुद्ध अनेरास्ववियुले भण्डाफोर अभियान चलाउने

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले वर्तमान सरकारले जनतामाथि दमन, अत्याचार र शोषण गरेको भन्दै भण्डाफोर गर्ने निर्णय गरेको छ।

असोज १ र २ गते काठमाडौंमा सम्पन्न अनेरास्ववियुको तेस्रो नीति तथा विधान महाधिवेशनले गरेका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा अनेरास्ववियुले विश्वविद्यालयमा राज्य समर्थित गुण्डागर्दी भएको भन्दै यसको समेत भण्डाफोर गर्ने जनाएको हो ।

यस्तै सार्वजनिक शिक्षाको गुणस्तर बढाउन दवावमूलक, रचनात्मक आन्दोलन गर्ने र महङ्गी, कालाबजारी, भ्रष्टचारविरुद्ध आन्दोलन गर्ने निर्णय पनि संगठनले गरेको छ।

त्यस्तै इन्धनको मूल्यलाई वैज्ञानिक तथा स्वचालित प्रणाली कायम गरी वस्तुबजार अनुगमन गर्न पनि महाधिवेशनले माग गरेको अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले बताउनुभयो । उहाँले निर्वाचन धाँधलीरहित र निष्पक्ष रूपमा सम्पन्न गराउन पनि गर्नुभयो ।

संविधानको कार्यान्वयन गराउनका लागि र शिक्षालाई लगानी बढाउन पनि संघर्ष गर्ने भन्दै अध्यक्ष बरालले विश्वविद्यालयको पाठ्यक्रमलाई समयानुकल परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

महाधिवेशनले अध्यक्ष बरालको संयोजकत्वमा ११ हजार १ सय ५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी निर्माण पनि गरेको अनेरास्ववियुले जानकारी दिएको छ।

Back to top button