शेखर समूहको आयोजनामा ‘खबरदारी सभा’ सुरु

काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर समूहले आयोजना गरेको ‘खबरदारी सभा’ सुरु भएको छ । सभापतिमा पराजित डा. शेखर कोइराला समूहले काठमाडौंमा ‘खबरदारी सभा’ आयोजना गरेको हो ।

पार्टीभित्र अवसर र न्यायका लागि भन्दै शेखर समूहले थापागाउँस्थित बानेश्वर ब्याङ्केटमा खबरदारी कार्यक्रम गरेको हो ।

कार्यक्रममा शेखर कोइरालासहित उहाँ पक्षका पदाधिकारी आएका छैनन् । केन्द्रीय सदस्य, जिल्ला सभापति, उहाँ पक्षीय भ्रातृ संस्थाका नेता र ४ मंसिरको चुनावमा उम्मेदवारको आकांक्षी रहेका नेताहरु सहभागी छन् ।

सत्ता गठबन्धन दलबीच सिट बाँडफाँटमा सहमति नभएका बेला कांग्रेसभित्र भने २ समूहबीच नै समस्या देखिएको छ ।

शेखर समूहले आगामी चुनावका लागि प्रतिनिधि सभा र प्रदेश सभामा कम्तिमा ४० प्रतिशत सिट आफ्नो पक्षका नेतालाई दिन माग गरिरहेको छ ।

यो समूहले पटक–पटक भेला र बैठक गरेर सभापति शेरबहादुर देउवालाई दबाव दिंदै आएको छ । साथै आफूहरूलाई न्यायोचित व्यवहार नगरिए गठबन्धनमा समेत समस्या आउने शेखर समूहले चेतावनी दिइरहेको छ ।

Back to top button