प्रदेश १ मा पर्यटन सूचना केन्द्र स्थापना

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा पर्यटन सूचना केन्द्र स्थापना भएको छ ।

नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश- १ समितिको पहलमा पर्यटन व्यवसायीसहितका सरोकारवालाहरुको सक्रियतामा महासंघको सचिवालयमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ ।

आज महासंघको कार्यालयमा स्थापित सूचना केन्द्रको महासंघका केन्द्रीय सदस्य, प्रदेशका उपाध्यक्ष एवं प्रदेश- १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईका आर्थिक सल्लाहकार राजेन्द्र राउतले उद्घाटन गर्नु भएको हो । महासंघमा स्थापित सूचना केन्द्रको बोर्ड र कार्यकक्षको राउतले रिवन काटेर उद्घाटन गर्नु भएको छ ।

प्रदेश १ का प्रमुख तीन नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई प्रमुख गन्तव्यहरुको बारेमा जानकारी दिने, होटल र ट्राभल्सलगायतका सेवा प्रदायक निकायको सूचना विवरण अद्यावधिक राख्ने र पर्यटकहरुकै जानकारी राख्नेलगायतका काम सूचना केन्द्रबाट हुने बताइएको छ ।

उपाध्यक्ष राउतले अहिले इलामको पशुपतिनगर र झापाको विर्तामोडमा सूचना केन्द्र स्थापना भएपनि विराटनगरको रानी नाकामा अझै पनि पर्यटन डेस्क स्थापना नभएकोले त्यो काम पनि सूचना केन्द्रमार्फत गरिने बताउनुभयो ।

उहाँले प्रदेश- १ मा धार्मिक पर्यटनको ठूलो सम्भावना रहेको जानकारी दिंदै हाल रहेका १६ वटा आन्तरिक विमानस्थल संचालन गर्न संघीय सरकारले पहल गर्नुपर्ने बताउनुभयो ।

प्रदेश १ मा पर्यटकलाई आकर्षण गर्न आवश्यक पर्ने राम्रो होटलसहितका पर्यटन पूर्वाधारमा अझै कमी रहेको भन्दै उहाँले पर्यटकहरुलाई आवश्यक पर्ने यातायात सेवाको पनि उपयुक्त व्यवस्था गर्न तीन वटै तहका सरकारले पूर्वाधारमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

राउतले महासंघको पहलमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अन्तरगत सूचना केन्द्र स्थापना गरिएको जानकारी दिंदै त्यसलाई प्रभावकारी रुपमा संचालन गरिने बताउनुभयो ।

महासंघका केन्द्रीय सदस्य अविनाश बोहराले विराटनगर विमानस्थलमा पनि इमिग्रेशनको व्यवस्था गर्न सके पर्यटकहरुलाई सहज हुने बताउनु भयो ।

उहाँले पर्यटन क्षेत्रलाई राज्यले ठूलो आर्थिक स्रोतका रुपमा उपयोग गर्न नसकेको बताउनु भयो ।  बोहोराले प्रदेश १ मा साहसिक र धार्मिक पर्यटनको विकासको सम्भावना पनि अत्यधिक रहेको भन्दै त्यसतर्फ पनि राज्यले ध्यान दिनुपर्ने बताउनुभयो ।

पर्यटन दिवसको अवसर पारेर नेपाल सरकार, प्रदेश सरकार र पर्यटन बोर्डको सहयोगमा पर्यटन सूचना केन्द्रको स्थापना गरिएको महासंघका पर्यटन समितिका संयोजक भविषकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले १४ वटै जिल्लाका पर्यटकीय स्थलहरुको जानकारी, पर्यटन क्षेत्रमा काम गर्ने संघसंस्था, सहासिक पर्यटन सम्वद्ध कम्पनीहरु, टुर गाइड, ट्राभल्स एण्ड टुर्स, होटल लगायतका जानकारीहरु सूचना केन्द्रमा रहने बताउनु भयो ।

सूचना केन्द्रमा पर्यटनसम्बन्धि जानकारी दिनसक्ने दक्ष जनशक्तिको व्यवस्था गरिने र त्यसका लागि प्रदेश सरकार अन्तरगत पर्यटन तथा संस्कृति मन्त्रालयलाई आग्रह गरिएको छ ।

आगामी दुई महिनाभित्र सूचना केन्द्रलाई प्रभावकारी रुपमा संचालन गर्न पर्यटन क्षेत्रसँग सम्वद्ध १६ वटा निकायहरुसँग समन्वय भइरहेको छ ।

महासंघ प्रदेश समितिका सदस्य रविन दाहालले सूचना केन्द्र स्थापनापश्चात प्रदेशको पर्यटन विकासमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

Back to top button