पुष्पन प्रधानको स्वरमा ‘लाहुर’ बोलको गीत सार्वजनिक

काठमाडौं । चाडपर्वमा घर जान नपाउने फौजीको पीडालाई समेटेर पुष्पन प्रधानको स्वरमा ‘लाहुर’ बोलको गीत सार्वजनिक भएको छ। गायक प्रधानले दसैं तिहारको अवसर पारेर ‘लाहुर’ बोलको गीत सार्वजनिक गर्नुभएको हो ।

गीतले दसैं र तिहारजस्ता महत्वपूर्ण चाडमा परिवारसँग भेट्न नपाउँदाको पीडा पोखिएको छ। यो गीतले लाहुर गएको श्रीमान् र उसलाई कुरिरहेकी श्रीमतीको भाव र माया भनेको छ।

कमजोर आर्थिक अवस्थाका कारण लाहुर जान बाध्य नेपाली कसरी चाडबाडमा पनि घर जान पाउँदैनन् भन्ने यथार्थलाई गीतले फरक तरिकाले प्रस्तुत गरेको छ। परिवारको आग्रह र घर फर्किने आफ्नै चाह हुँदाहुँदै पनि परिबन्धमा परेर मन बाँधेर बस्नुपर्ने परदेसिएका नेपालीको कथालाई गीतले दुरुस्त उतारेको छ।

संगीत तयार गर्नुभएका सुशान्त गौतमले कोरसको प्रयोगमार्फत एउटै गीतबाट फौजी र परिवारको कथा बयान गराउनुभएको छ । उहाँले शब्द भने अनिल शर्माको सहयोगमा तयार गर्नुभएको हो ।

हरि हुमागाईंले निर्देशन गर्नुभएको म्युजिक भिडियोले गीतको कथालाई न्याय गरेको छ। यसपटक पनि उहाँले भिडियोमा एउटा सिंगो कथा बुन्नुभएको छ । जहाँ, थुप्रै सम्वाद पनि समावेश छ। भिडियोमा उत्तम हुमागाईंको छायांकन र सम्पादन छ।

भिडियोमा पुष्पन प्रधानको कन्सेप्ट डिजाइन रहेको छ। भिडियोमा प्रकाश सपूत, रेश्मा घिमिरे, राजेन्द्र हुमागाईं, गोकुल हुमागाईं, सायना हुमागाईंलगायतको अभिनय रहेको छ ।

Back to top button