एमालेले घोषणापत्र सार्वजनिक गर्दै, अध्यक्ष ओलीले प्रत्यक्ष संवाद गर्ने

काठमाडौं । नेकपा (एमाले)ले आज घोषणापत्र सार्वजनिक गर्ने भएको छ। प्रमुख प्रतिपक्ष दल एमालेले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन–२०७९ को निर्वाचन घोषणा पत्र आज दिउँसो साढे १ बजे सार्वजनिक गर्ने तयारी भएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

उहाँले आज घोषणापत्रमार्फत समृद्धिको मार्गचित्र सार्वजनिक गर्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो,‘आगामी पाँच बर्षमा के–के गर्न सक्छौँ ? दीर्घकालीन रुपमा देशलाई कसरी अगाडि बढाउन सक्छौँ ? नेकपा एमालेले आज घोषणापत्रमार्फत समृद्धिको मार्गचित्र सार्वजनिक गर्दैछ।’

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा र सङ्कल्पलाई आत्मसात् गर्दै घोषणापत्र ल्याउने तयारी गरेको हो । एमालेको चुनावी घोषणापत्र निर्माणका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा मस्यौदा समिति गठन गरेको थियो । उक्त समितिले आएका सुझावलाई समेटेर अन्तिम रूप दिएको हो।

पार्टीको घोषणा पत्र सार्वजनिक भएपछि अध्यक्ष केपी शर्मा ओलीसँग प्रत्यक्ष संवाद (लाइभ डिबेट) पनि हुने रिजालले जानकारी दिनुभएको छ। एमालेविरुद्ध मोर्चाबन्दी गरेका सत्ता गठबन्धनमा आबद्ध दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीले छुट्टाछुट्टै घोषणा पत्र सार्वजनिक गरिसकेका छन् ।

Back to top button