जनताबाट मत लिएर जनताको सेवामा समर्पित हुन्छु : ज्ञानेन्द्र सुवेदी

विराटनगर । आसन्न निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ (२) बाट प्रदेशसभा सदस्यको उम्मेदवार बन्नुभएका ज्ञानेन्द्र सुवेदीसँग गरिएको संक्षिप्त कुराकानी ।

हिजो बेलबारी नगरपालिकाको मेयर हुनुहुन्थ्यो, अहिले प्रदेशसभा सदस्यको उम्मेदवार हुनुभएको छ ? जनतामा जाँदाको अनुभूति के छ ?

प्रश्नको लागि धन्यवाद । हिजो मेयर भएर ५ वर्ष काम गरिरहँदाका क्षणहरुलाई जनताले नजिकबाट प्रत्यक्ष रुपमा जोडिएर जाने खालको अवस्था थियो । जनतासँगै दिनदैनिक जोडिनुपर्ने थलो भनेको स्थानीय तहको जिम्मेवारीमा रहँदा हुन्छ नै । अहिले प्रदेशसभा सदस्यको उम्मेदवार भइरहँदा जनताले हिजो गरेका कामहरु हेरेर काम गर्ने उम्मेदवारका रुपमा मलाई बुझिदिनुभएको छ । सबै मतदातामा उत्साह थपिएको अनुभूती पाइरहेको छु । हिजो गरेका कामले उहाँहरुको मन छोएको छ । हिजो संकटको अवस्थामा पनि मुलुकमा संघियताको पहिलो पटक अभ्यास गरिरहेका थियौं । कतिपय कुरा स्पष्ट थिएन । अढाई वर्ष त हामीलाई कोभिडले थला पार्‍यो । तथापी बाँकी अढाई वर्षमा सम्पर्क, व्यवहार र नगरपालिकाले गरेको कार्यक्रम र योजनाहरुले अहिले एकदमै मतदाताहरुमा म प्रतिको उत्साह, म प्रतिको सहमनुभूती, म प्रतिको माया र चाँही बढी नै पाएको छु । समग्रमा भन्दा म उम्मेदवार भइरहँदा सिंगो एमाले र यहाँका मतदाता खुसी भएको देख्छु ।

प्रदेशसभा सदस्यले गर्नुपर्ने के देख्नुहुन्छ ?

खास गरेर विकास निर्माणका कुरा अनि सम्पर्क सम्बन्धका कुरा । यी काम गर्नका लागि नीति बनाउने, कार्यक्रमहरु ल्याउन प्रयत्नशिल रहने नै हो । मुलुक संघीयता प्रवेश गरेपछि अझै पनि केहि पुराना चरित्रका कुरा छन्, तीनलाई सुधार्न आवश्यक छ, कतिपयलाई आत्मसाथ गरेर अघि बढ्नुपर्ने छ । त्यसमा पनि विकासको मोडालिटीको कुरा छ । विकाससँग जोडेर हेर्दा स्थानीय तह, प्रदेश र संघ छन् । यी तीन तहको बिचको भूमिका प्रष्ट्याउनु पर्ने देखिन्छ । तीन तहमा बजेटको कुरा, नीति निर्माणको कुरा, कानुनको कुरा र कार्यक्रमको कुरामा समन्वय र सहकार्यको कुरालाई जोडेर जानुपर्ने देखिन्छ । आ–आफ्नो तहको भूमिका र जिम्मेवारीको कुरा जनतालाई बुझाएर जानुपर्ने देखिन्छ ।

तपाई मेयर भएर निर्वाह गरेको भूमिकाले प्रदेशसभा सदस्यलाई कत्तिको सहयोग गर्छ ?

निश्चय नै धेरै सहयोग गर्छ । हिजो मेयर हुँदा निर्वाह गरेको अनुभवले कानुन निर्माण देखि लिएर विकास निर्माणका सवालमा होस या स्रोत र साधनको कुरामा धेरै सहयोग पुग्छ । नगरपालिकाले तय गर्ने कार्यक्रम र नीतिका कुराहरुले गर्दा अब प्रदेशमा निर्वाचित भएर गइरहँदा निती निर्माणदेखि पालिका र संघसँग समन्वय र सहकार्य गर्ने बिषयमा हामीलाई सहज हुनेछ । यतिमात्र होइन तीन तहबीचको समन्वयकारी भूमिका निर्वाह गर्दै अरु दातृ संस्थाहरुलाई जोडेर जाने सवालमा पनि सहज हुन्छ । यो उपलब्धिपूर्ण पनि हो ।

कतिपय स्थानमा हिजोका प्रदेशसभा सदस्यहरुको मोह स्थानीय तहतर्फ देखियो, सायद बजेटका कारण होला । तपाईले चाँही प्रदेशसभा सदस्य रोज्नुभयो किन ?

हामी संघीयताको अभ्यासमा नै छौं । यो बुझाईको कुरा पनि हो । पहिलो ५ वर्षको अभ्यासले हामीमा अहिले पनि धेरै कुरा क्लियर हुनुपर्ने अवस्था देखिन्छ । संविधानले व्यवस्था गरेको कुराको क्लियारिटी अब तीन वटै तहमा हुनुपर्छ भन्ने लाग्या छ । तीनै तहमा एकल अधिकारको कुरा छ , साझा अधिकारको कुरा छ । यसलाई मिहिन ढंगबाट बुझेर जाने र कार्यान्वयनमा लैजाने हो भने सबै तहको आफ्ना आफ्नै भूमिका छन् । बजेटका कुरा भनेको खास गरेर कार्यान्वयनको तहमा स्थानीय तहले नै गर्नुपर्ने हुन्छ । ठूल–ठूला कुरा संघले नै गर्ने हो । केहि प्रदेशस्तरीय निर्माण विकास गर्ने, पालिकाहरुलाई १४ वटै जिल्लाको भुगोललाई हेरेर नीतिगत रुपमा व्यवस्थापकीय हिसाबले, क्षेत्रगत हिसाबले जस्तै कृषि, शिक्षा, स्वास्थ्य, विकास निर्माण पूर्वाधारलगायतका काम गर्ने हो । जहाँसम्म मैले रोजेको विषय उठाउनुभएको छ, हामीले प्रदेशस्तरीय योजनाहरु अघि सार्नुपर्ने छ । सोहि अनुसारको स्रोत साधन जुटाउँदै हाम्रो क्षेत्रको विकास गर्नुछ । यहाँका जनताको जीवनस्तर उकास्ने किसीमका नीति निर्माण गर्नुछ । त्यसो गर्न सक्दा मात्र हामी चाँडो भन्दा चाँडो समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय अभियानलाई सार्थक बनाउन सक्छौं । यसका लागि बजेटको मात्र कुरा आउँदैन, मानवीय संशाधनको कुरा, नीति निर्माणको कुरा सामाजिक क्षेत्रका कुराहरु पनि आफै जोडिएर आउँछन् ।

सबै उम्मेदवार मत माग्न व्यस्त हुनुहुन्छ । सबैको विश्वास जित्ने नै हो ? प्रतिष्पर्धिलाई कसरी हेर्नुहुन्छ ?

लोकतन्त्रको सुन्दर पक्ष भनेकै यहि हो । विभिन्न दल र उम्मेदवारहरुबिचको प्रतिष्पर्धाबाट जनताको अभिमत बढी भन्दा बढी लिएर उत्तिर्ण हुने नै विजयी हुने हो । सबैका आ–आफ्नै एजेण्डा छन् । सबैका काम गर्ने शैली फरक फरक छन् । कस्को क्षमता कस्तो, कस्ले मौकामा के कति जनताको लागि काम गर्न सक्छ भन्ने जनताले राम्रो सँग बुझ्नुभएको छ । त्यसैले प्रतिष्पर्धिहरु जो जो भएपनि आफूले जित्ने जनताको मन हो । जनताबाट मत लिएर जनताको सेवामा समर्पित हो । त्यसैले प्रतिष्पर्धिहरुका सवालमा मैले कमेन्ट गरिरहन आवश्यक छैन ।

Back to top button