सोलुका २० मध्ये १४ उम्मेदवारले जोगाउन सकेनन् जमानत

सोलुखुम्बु । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सोलुखुम्बुका १४ जना उम्मेदवारको जमानत (धरौटी) जफत भएको छ।

मतपेटिकामा खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसकेका प्रतिनिधिसभा तर्फका ६ जना र प्रदेशसभा तर्फका ८ जना उम्मेदवारको जमानत जफत भएको हो।

धरौटी जफत हुनेमा प्रतिनिधिसभा तर्फका उम्मेदवारहरु जसपा नेपालका ल्हाक्पा शेर्पा, राप्रपाका ज्ञानेन्द्र बहादुर बस्नेत, नेमकिपाका तारानाथ कट्टेल, नेकपा मालेका विष्णुप्रसाद बास्तोला, मंगोल नेश्नल अर्गनाईजेशनका सौविर राई र संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका लामु शेर्पा हुनुहुन्छ।

यस्तै प्रदेशसभा १ तर्फका उम्मेदवारहरुमा जसपाका भक्तबहादुर राई, राप्रपाका नरबहादुर बस्नेत, मंगोल नेश्नल अर्गनाईजेशनका खेमकुमार राई र नेमकिपाका चेतनाथ खनाल हुनुहुन्छ।

प्रदेशसभा २ तर्फका उम्मेदवारहरु जसपाका महेशकुमार राना मगर, राप्रपाका प्रेमहरी दहाल, मंगोल नेश्नल अर्गनाईजेशनका शान्ती माया राना मगर र नेमकिपाका कमल बहादुर मगरको जमानत रकम जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

निर्वाचनमा उम्मेदवारी दर्ता गर्ने क्रममा प्रतिनिधिसभा सदस्यको जनही १० हजार र प्रदेशसभा सदस्यको जनही ५ हजार जमानत वा धरौटी राख्नुपर्ने व्यवस्था छ।

तर उक्त धरौटी रकम फिर्ता हुन खसेको सदर मतको १० प्रतिशत कटाउनुपर्ने प्रावधान छ। प्रतिनिधिसभातर्फ कुल खसेको ४० हजार ७३ मत मध्ये ३७ हजार ८१० मत सदर रहेको थियो।

यस्तै प्रदेशसभा १ तर्फ २० हजार ६४० मत खसेकोमा १९ हजार ४७४ मत र प्रदेशसभा २ मा १९ हजार ४३३ मत खसेकोमा १८ हजार ५७२ मत सदर रहेको थियो।

जमानत जोगाउन प्रतिनिधिसभा तर्फका उम्मेद्वारले ३७ सय ८१ मत, प्रदेशसभा १ का उम्मेदवारले १९४७ मत र प्रदेशसभा २ का उम्मेद्वारले १८५७ मत कटाउनुपर्ने थियो।

तर जिल्लामा प्रतिनिनिधिसभातर्फ विजेता नेकपा एमालेका मानवीर राई र उपविजेता नेपाली कांग्रेसका बलबहादुर केसीले मात्रै जमानत जोगाउनुभएको छ ।

यस्तै प्रदेशसभा १ तर्फ विजेता माओवादी केन्द्रका गोम्बु शेर्पा (कज्र्याङ) र उपविजेता नेकपा एमालेका उत्तमकुमार बस्नेतले जमानत जोगाउनुभएको छ भने प्रदेशसभा २ तर्फ पनि विजेता एमालेका बुद्धिकुमार राजभण्डारी र उपविजेता माओवादी केन्द्रका शिवबहादुर बस्नेत (राजेन्द्र) ले मात्रै जमानत जोगाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

Back to top button