दोलखाबाट प्रदेशसभा (२)मा एमालेका केसी निर्वाचित

दोलखा । दोलखाको प्रदेशसभा (२)मा नेकपा एमालेका भरतबहादुर केसी निर्वाचित हुनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाका अनुसार केसी १९ हजार ४ सय १४ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

उहाँका निकटत प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बर्मा लामाले १७ हजार ५ सय ९५ मत प्राप्त गर्नुभयो।

नेपाली कांग्रेस दोलखाका सभापति समेत रहनुभएका लामाले मतगणना सकिनु अघि नै हार स्वीकार गदै केसीलाई बधाई दिनुभएको थियो। लामाले कांग्रेसकै कारण आफूले चुनाव हारेको समेत बताउनुभयो ।

उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘सूर्यमुखी कांग्रेसहरु जसले जित्दा–जित्दैको निर्वाचन हराउन सफल हुनुभयो त्यस्ता नेता तथा कार्यकर्ता र पत्रकार जीहरुलाई समेत बधाई एवं शुभयात्रा भन्न चाहान्छु ।’

लामाको प्रदेश सभामा यो दोस्रो हार हो । यसअघि २०७४ सालको चुनावमा पनि उहाँ नेकपा माओवादी केन्द्रका विशाल खड्कासँग पराजित हुनुभएको थियो। प्रदेश सभामा निर्वाचित केसी भने भिमेश्वर नगरपालिकाको पूर्व मेयर हो ।

Back to top button