पेरुमा पहिलो पटक महिला राष्ट्रपति

डिना बोलुआर्ते पेरुमा इतिहासकै पहिलोपटक महिला राष्ट्रपति बन्नुभएको छ । यसअघिका राष्ट्रपति पेड्रो क्यास्टिलो महाअभियोग लागेर पदमुक्त भएपछि यसअघि उपराष्ट्रपति रहनुभएकी बोलुआर्ते राष्ट्रपति चुनिनुभएको हो ।

उहाँले राष्ट्रपतिमा चुनिएर सपथ ग्रहणसमेत गरिसकेको अन्तर्राष्ट्रिय समाचार सस्था बीबीसीले उल्लेख गरेको छ । यसअघिका राष्ट्रपति पेड्रोले संसद भंग गर्न लागेको सूचना पाएपछि आपतकालीन संसद बैठक बोलाइएको थियो ।

त्यसपछि पेड्रोविरुद्ध महाअभियोग लगाएर पदमुक्त गरिएको र हिरासतमा राखिएको बीबीसीले जनाएको छ । ६० वर्षीया बोलुआर्तेले राष्ट्रपति पद सम्हालेपछि आफू सन् २०२६ सम्म यो पदमा रहने बताउनुभएको छ । अघिल्ला राष्ट्रपति पेड्रोको कार्यकाल पनि सोही समयसम्म थियो ।

शपथ ग्रहण गरेपछि बोलुआर्तेले अहिलेको संकट निवारणका लागि राजनीतिक शान्ति सम्झौता आवश्यक रहेको उल्लेख गर्नुभएको छ । महाअभियोग लागेर राष्ट्रपति पदबाट हट्नुभएका पेड्रो क्यास्टिलोले भने पेरुमा नाटकीय रुपमा राजनीतिक घटनाक्रम विकास भएको प्रतिकृया दिनुभएको छ ।

बुधबार राष्ट्रपति पदबाट मुक्त हुनुअघि पेड्रोले राष्ट्रिय टेलिभिजनमार्फत् सम्बोधन गर्दै संकटकाल लागू गर्ने घोषणा गर्नुभएको थियो । उहाँले विपक्षी दलको बहुमत रहेको संसद भंग गर्ने घोषणासमेत गरेपछि सरकारका धेरै मन्त्रीहरुले त्यसको विरोध गर्दै राजीनामा दिएका थिए ।

त्यसलगत्तै विपक्षी पार्टीहरुले संसदको विशेष अधिवेशन बोलाएर महाअभियोगको पक्ष–विपक्षमा मतदान गरियो । महाअभियोगको पक्षमा १०१ र विपक्षमा ६ जना सांसद रहे । १० जना सांसदहरुले भने मतदानमा भाग लिएनन् । महाअभियोगको प्रस्ताव पारित भएपछि पेड्रो कास्टिलोलाई प्रहरीले नियन्त्रणमा लियो । कास्टिलोले सन् २०२१ मा राष्ट्रपति पद सम्हाल्नुभएको थियो ।

Back to top button