
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको बताउनुभएको छ ।
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले भ्रष्टाचारका बहुआयामिक स्वरूप, कारण र प्रभाव हुने भन्दै भ्रष्टाचारको नियन्त्रण दिनानुदिन चुनौतीपूर्ण बन्दै गइरहेको बताउनुभएको हो ।
उहाँले भ्रष्टाचार विरुद्धको अभियानमा राज्यका सबै संयन्त्र, अदालत, नागरिक समाज र सञ्चार क्षेत्र लगायतको भूमिका र सक्रियता आवश्यक रहेको बताउनुभयो। उहाँले भ्रष्टाचार नियन्त्रणलाई सबैको समन्वयमा अघि बढाउँदै जनमुखी सेवा प्रवाह गर्न जरुरी रहेको बताउनुभयो।
प्रधानमन्त्री देउवाले भ्रष्टाचारलाई कडाइका साथ नियन्त्रण र निर्मूल गरी स्वच्छ, स्वस्थ, नैतिक र विकसित समाजको निर्माण गर्न सबै एकजुट हुन आवश्यक भएको बताउनुभयो। समाजको कलंकको रूपमा रहेको भ्रष्टाचारलाई नियन्त्रण गर्न, भ्रष्टाचारजन्य गतिविधिबाट टाढा रहन र भ्रष्टाचारजन्य कार्यकाबिरुद्धमा आवाज मुखरित गरी सदाचार कायम गर्न आवश्यक भएको पनि बताउनुभयो।
भ्रष्टाचार नियन्त्रणको अन्तर्राष्ट्रिय दायित्वप्रति नेपाल सरकार पूर्ण प्रतिबद्ध रहेको बताउँदै उहाँले भ्रष्टाचारविरुद्धको महासन्धिको कार्यान्वयन गर्न तीन वटै तहबाट राष्ट्रिय कार्ययोजना कार्यान्वयन भइरहेको बताउनुभयो।
उहाँले भ्रष्टाचार नियन्त्रणसम्बन्धी अभियान सञ्चालनको खाँचो रहेको भन्दै भ्रष्टाचार नियन्त्रणका लागि कानून संशोधन गर्न आवश्यक भए सरकार तयार रहेको पनि बताउनुभयो।
प्रधानमन्त्री देउवाले भ्रष्टाचार नियन्त्रणमा आगामी दिनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग थप क्रियाशिल रहने विश्वास व्यक्त गर्नुभयो। उहाँले भ्रष्टाचारमुक्त समुन्नत राष्ट्र निर्माणमा सबैजना प्रतिवद्ध भइ अघि बढ्न आग्रह गर्नुभयो।
उहाँले भ्रष्टाचारले सार्वजनिक सेवा प्रवाह र विकास व्यवस्थापनका साथै सामाजिक जीवनका सबै क्षेत्रलाई नकारात्मक प्रभाव पार्ने भएकाले भ्रष्टाचार गर्ने मनोवृत्तिमा ठोस सुधार गर्न जरूरी रहेको बताउनुभयो।
यस्तै, भ्रष्टाचारबिरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि पारित भएको डिसेम्बर ९ तारिखका दिनलाई हरेक वर्ष विश्वभर नै विभिन्न कार्यक्रम आयोजना गरी भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ।