ज्येष्ठ नागरिकको स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

का‍ठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले ज्येष्ठ नागरिकको स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न स्वास्थ्य प्रणालीलाई सुधारको प्रयास गरिरहेको बताउनुभएको छ ।

आज ललितपुरको बाँडेगाउँमा किसुनजी जेष्ठ नागरिक स्वास्थ्य सेवा राष्ट्रिय अभियानको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले ज्येष्ठ नागरिकको उपचारका लागि स्वास्थ्य पूर्वाधारमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

उहाँले स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो । उहाँले प्रदेशका कम्तिमा एक अस्पतालमा जेष्ठ नागरिकको बिशेषज्ञ उपचार सेवा प्रदान गरिने जानकारी दिनुभयो।

किसुनजी ज्येष्ठ नागरिक स्वास्थ्य सेवा अभियान सुरु भएको कुरा सुन्दा अत्यन्त खुसी लागेको भन्दै उहाँले अभियानले ज्येष्ठ नागरिकको जीवन, सहज, सुरक्षित, सम्मानित र सुनिश्चित गरी सामाजिक न्यायको प्रत्याभूति दिलाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

सरकारले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षालाई देशभर बढाउन बजेटमा ६५ वर्ष नाघेकालाई वृद्ध भत्ता दिने व्यवस्था गरेको उहाँको भनाइ छ। नेपालको लोकतन्त्रको बहालीका लागि किसुनजीले खेलेको भूमिकाको स्मरण गर्दै अग्रज नेताहरुसँग काम गर्न पाउनु आफ्ना लागि गौरवको विषय भएको जिकिर गर्नुभयो।

जेष्ठ नागरिकलाई गुणस्तरिय स्वास्थ्य सेवामा सहज र क्षमतामुलक पहुँच सुनिश्चित गर्ने उदेश्यले जेरियाट्रिक सोसाइटी अफ नेपाल, पुन्यार्जन फाउण्डेशन र सन्त नेता कृष्ण प्रसाद भट्टराई प्रतिष्ठानको साझेदारी तथा नेपाल सरकारको समन्वयनमा किशुनजी जेष्ठ नागरिक स्वास्थ्य सेवा राष्ट्रिय अभियान शुभारम्भ गरिएको हो।

Back to top button