मुख्यमन्त्री राईद्धारा तमु ल्होसारको शुभकामना व्यक्त

विराटनगर । गुरुङ जातिको महान चाड तमु ल्होसारको अवसरमा प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले शुभकामना ब्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देश जारी गर्दै उहाँले हाम्रा जुनसुकै पर्वहरू राष्ट्रिय एकताको माध्यम बन्न सकुन् भन्ने कामना गर्दै संसारभरि फैलिएर रहेका नेपालीमा तमु ल्होसारको शुभकामना व्यक्त गर्नुभएको छ ।

तमु ल्होसार पर्व गुरुङ जातिले नयाँ वर्ष सुरुआतको रुपमा मनाउने गर्दछन् । दाजुभाइ आफन्त, नाताकुटुम्ब भेला भएर सामूहिक रुपमा खाना खाने यो पर्वमा मौलिक सांस्कृतिक नाचगान गर्ने, मान्यजनबाट आशीर्वाद लिने, परम्परागत जातीय भेषभूषा लगाउने चलन रहेको छ ।

यो पर्वका बेला घाटु, सोरठी र चुड्का भनेर प्रचलित कौडा नाचेर आफन्त, परिवार र साथीभाइहरूसँग रमाइलो गरिने मुख्यमन्त्री राइले चर्चा गर्नुभएको छ ।

नेपाल सदियौंदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकका रुपमा रहेको छ र सांस्कृतिक परम्पराको दृष्टिकोणले सम्पन्न रहेको बताउनुभएको छ ।

मुख्यमन्त्री राईले विभिन्न भाषा, संस्कृति, भेषभूषा, संस्कारसहित आ–आफ्नो जातीय पहिचान मानव सभ्यताका आधार स्तम्भ रहेको भन्दै यी विविधताको संरक्षण, प्रवद्र्धन र विकास गर्नु राज्य र सम्पूर्ण नेपालीको साझा दायित्व रहेको उल्लेख गर्नुभएको छ ।

Back to top button