नेता पुन अस्पतालबाट डिस्चार्ज

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । ललितपुरको सुमेरु अस्पतालमा उपचाररत नेता पुनलाई आज डिस्चार्ज गरिएको हो।

पुनको स्वास्थ्यमा केही सुधार आएपछि डिस्चार्ज प्रक्रिया अघि बढाइएको उपचारमा संलग्न प्रा.डा.युवराज शर्माले जानकारी दिनुभयो।

पेटरोग विशेषज्ञ शर्माले भन्नुभयो,‘उहाँलाई निगरानीमा राख्ने गरी डिस्चार्ज गरिएको हो। फलोअपका लागि भने आइराख्नुपर्ने हुन्छ।’

उपचारमा संलग्न चिकित्सकले पुनलाई कलेजो प्रत्यारोपण गर्न सुझाव दिएका छन्। पुनको कलेजोमा समस्या देखिएपछि चिकित्सकले कलेजो प्रत्यारोपण गर्न सुझाव दिएका हुन्। पेटरोग विशेषज्ञ डा.शर्माले पुनको लिभरमा असर देखिएका कारण प्रत्यारोपणको सुझाव दिएको बताउनुभयो।

डा. शर्माले भन्नुभयो,‘फाइनल ट्रिटमेन्ट भनेको अब उहाँको लिभर फेर्नै पर्छ कि भन्ने हो। पेटमा पानी आएपछि कलेजोलाई कमजोर बनाएको प्रमाण देखियो।’

पुनको पेटमा पानी जम्ने समस्या देखिएको थियो। डा.शर्माले भन्नुभयो,‘चीनबाट फर्किएपछि लिभरमा कमजोरिपन बढ्यो। केही दिनअघि रोल्पाबाट फर्किएपछि उहाँको पेटमा पानी धेरै बढेको रहेछ।

असजिलो भएपछि हामी कहाँ आउनुभयो। जण्डिस त छँदैछ। लिभरमा अलिकति असर गरेको देखिएको छ। पेटमा पानी बढेर उपचार गरेपछि अहिले उहाँको स्वास्थ्य अवस्था सुधारउन्मुख छ। कम्फरटेबल हुनुहुन्छ। उहाँ स्टेबल हुनुहुन्छ।’

Back to top button