अस्थिरता निम्त्याउने शक्तिबारे मिडियाको निर्मम प्रहार होस्: मुख्यमन्त्री गिरी

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले राजनीतिक अस्थिरता निम्ताउने शक्तिका बारेमा उजागर गर्नुपर्ने बताउनुभएको छ ।

सरकारलाई अस्थिर बनाउन विदेशी शक्ति र भूराजनीतिको प्रभाव रहेको भन्दै गिरीले त्यस्ता शक्तिको पक्षमा लाग्ने दल र नेताविरुद्ध सञ्चार माध्यमले निर्मम प्रहार गर्नुपर्ने बताउनुभएको हो ।

पत्रकार रामकृष्ण भण्डारीको ‘सत्ता संघर्ष’ नामक पुस्तकबारे आज बुटवलमा भएको विमर्शमा मुख्यमन्त्री गिरीले मुलुकको विकास र समृद्धिको वाधक राजनीतिक अस्थिरता नै भएको बताउनुभयो ।

‘बहुमतको सरकार किन गिराउने खेल कसले गरिरहेको छ? किन सरकारहरु टिक्न सकेनन्?’, मुख्यमन्त्री गिरीले प्रश्न गर्नुभयो, ‘नेपालमा स्थिरता हुन नदिन विदेशी शक्ति र भू–राजनीतिको प्रभाव छ कि छैन, यस्ता शक्तिहरुका बारेमा जनतालाई उजागर गर्ने काम मिडियाको हो ।’

मुख्यमन्त्री गिरीले संसदीय व्यवस्थामा सरकार बनाउने र गिराउने खेल विश्वका अधिकांश देशमा हुने भन्दै सबै कुराको दोष राजनीतिक दल र नेतालाई मात्र दिनुभन्दा यसको भित्री कारणहरु पहिल्याउनु जरुरी रहेको औंल्याउनुभयो ।

पुस्तकका लेखक रामकृष्ण भण्डारीले आफूले पत्रकारिताका दौरान देखेका, भोगेका, महशुस गरेका, अनुभव गरेका र विभिन्न नेता एवं व्यक्तिसँगको कुराकानीका आधारमा पुस्तक प्रकाशन गरेको बताउनुभयो । पुस्तकमा ३० वर्षमा २८ सरकार गठन र विघटनसम्बन्धी प्रमुख राजनीतिक घटनाको नालीबेली समेटिएको छ ।

Back to top button