हिसान स्पोर्टस् मिटको ११ औं संस्करण सम्पन्नः कुन खेल कस्ले जिते ?

विराटनगर । विराटनगरमा माघ ९ गतेदेखि शुरु भएको हिसान स्पोर्ट्स मिटको ११ औं संस्करण गएराती सम्पन्न भएको छ । स्पोर्टस् मिटको अन्तिम दिन सोमबारराती फुटबलको फाइनल खेल सम्पन्न भएसँगै स्पोर्ट्स मिट समापन भएको हो ।

फुटबलको फाइनल खेलमा कोशी क्याम्पसले मोडर्न एरा कलेजलाई २–० को गोल अन्तरले पराजित गरि उपाधि जितेको छ । कोशीको जितमा दुवै गोल गौरभ धिमालले गर्नुभयो ।

खेलको ४३ औ मिनेटमा धिमालले २५ यार्डबाट प्रहार गरेको फ्रि किक सोझै गोलमा परिणत भएको थियो । ४८ औं मिनेटमा धिमालले एकल प्रहारमा डिबक्स नजिकबाट अर्को गोल गर्नुभयो ।

फाइनल खेलको म्यान अफ द फाइनल कोशीका प्रदिप तामाङ घोषित हुँदा हाइ स्कोरर उपाधी मोडर्न एराका नविन चौधरी र कोशीका सुरज लिम्बु समान ५–५ गोलले प्राप्त गर्नुभयो ।

उत्कृष्ट किपर कोशीका धिरेन्द्र परियार, प्रतियोगिताकै उत्कृष्ट खेलाडि कोशीका गौरभ धिमाल तथा अनुशाशित टिम पथरीको रेड स्टार कलेज भयो ।

हिजै सम्पन्न भलिबल छात्रा तर्फको फाइनलमा अर्किड कलेजले कोशी कलेलाई २–० को सोझो सेटले पराजित गरि उपाधि जितेको छ । उत्कृष्ट स्पाइकर अर्किडकी रोशिका बराइली घोषित हुँदा उत्कृष्ट लिफ्टर अर्किडकी ललिता मगर तथा उत्कृष्ट डिफेण्डर कोशीकी सविना माझी घोषित हुनुभयो ।

भलिबल छात्र तर्फको फाइनलमा मोडर्न एरा कलेजले कान्तिपुर कलेजलाई २–१ को सेटले पराजित गरेको छ । उत्कृष्ट स्पाइकर मोडर्न एराका अर्जुन विक, उत्कृष्ट लिफ्टर मोर्डन एराकै सविन तामाङ र उत्कृष्ट डिफेण्डर कान्तिपुरका सुर्दशन लिम्बु घोषित हुनुभयो ।

छात्रा १ सय मिटर दौडमा रेड स्टारकी विना लिम्बु प्रथम, अर्किडकी प्रियंका थारु दोस्रो र शिक्षादीपकी नेहा साह तेस्रो हुँदा २ सय मिटर दौडमा रेड स्टारकी विना लिम्बु प्रथम, कान्तिपुरकी भुमिका चौधरी दोस्रो र शिक्षा दिपकी सुस्मा बस्नेत तेस्रो हुनुभयो ।

छात्रतर्फ १ सय मिटर दौैडमा कान्तिपुरका नितेश राजवंशी प्रथम, शिक्षादीपका सर्फराज आलम दोस्रो र मेरिल्याण्डका राजकुमार चन्द्रवंशी तेस्रो हुँदा २ सय मिटर दौडमा कान्तिपुरकै नितेश राजवंशी प्रथम, मेरिल्याण्डका राजकुमार चन्द्रवंशी दोस्रो र रेड स्टारका सुरज लिम्बु तस्रो हुनुभयो ।

यस्तै क्रिकेटमा साविक विजेता कोशी क्याम्पसलाई फराकिलो रन अन्तरले पराजित गर्दै कान्तीपुर कलेज नयाँ च्याम्पियन बनेको छ । वैजनाथपुरको क्रिकेट मैदानमा भएको खेलमा कान्तीपुरले कोशी क्याम्पसलाई ९८ रनको फराकिलो अन्तरले पराजित गदै हिसान क्रिकेटको च्याम्पियन बनेको हो ।

हिसान स्पोर्टस् मिटको ११ औं संस्करणको फाइनलमा टस जितेर ब्याटिङ गरेको कान्तीपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ३७ रनको योगफल तयार पारेको थियो । कान्तीपुरका जितमा निशान्त यादवले ४०, भोला सेठले २७, कृष्ण गुम्ताले २५ र नवराज संग्रोलाले १५ रनको गोगदान दिनुभयो । कोशीका सुमन पासवान र अमित रायले १–१ विकेट लिनुभयो ।

१ सय ३८ रनको विजय लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको कोशी क्याम्पस १३ ओभरमा सवै विकेट गुमाई ३९ रनमा समेटियो । कोशीका सुमन पासवानले १० रन बाहेक अरु ब्याट्म्यानले उल्लेख्य योगदान गर्न सकेनन् । म्यान अफ द फाइनल कान्तीपुरका राज वर्माले ४ ओभरमा ९ रन दिएर ७ विकेट लिँदा अफुदिन रेनले २ विकेट लिनुभयो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडि कान्तीपुरका राज वर्मा घाषित हुँदा कान्तीपुरकै अभिषेक मण्डल उत्कृष्ट बलर र कोशीका अमित राय उत्कृष्ट ब्याट्सम्यान घोषित हुनुभयो ।

विजयी तथा सहभागिलाई हिसानका केन्द्रीय अध्यक्ष रमेश सिलवाल, केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, केन्दीय सदसस्यहरु राजेश कार्की, बलराम पन्त र शैकर भट्टराई, प्रदेश अध्यक्ष ज्ञानबहादुर खड्का, प्रदेश सचिव दिपेश बास्तोला र जिल्ला अध्यक्ष अमित ढकाललगायतले पुरस्कार तथा प्रमाण पत्र वितरण गर्नुभयो ।

Back to top button