देश हाम्रो आन्दोलन र मुद्दाको वरिपरि छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश अहिले माओवादी आन्दोलनको मुद्दाको वरिपरि रहेको बताउनुभएको छ ।

आदिवासी जनजाति आयोगले आज काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले माओवादी आन्दोलनले जित हासिल गरेको बताउनुभएको हो ।

‘सिंगो देश नै हामीले गरेको आन्दोलन र मुद्दाको वरिपरि नै छ । हाम्रो आन्दोलनको विजय भएको छ’ उहाँले भन्नुभयो,‘तर, एउटा प्रश्न त आउँछ नै । एउटा नेतृत्वले समाजको रुपान्तरणका लागि जे जस्तो संघर्ष र त्याग गर्‍यो, त्यसलाई सम्मान गर्न हामी चुकेका त छैनौँ ? हाम्रो आन्दोलनबिना यी मुद्दा सम्वोधन हुन सम्भव थिएन ।’

प्रधाननमन्त्री प्रचण्डले माओवादी आन्दोलनकै कारण महिला राष्ट्रपति, महिला प्रधानन्यायाधीश र महिला सभामुख बनेको पनि बताउनुभयो ।

‘महिला राष्ट्रपति, महिला प्रधानन्यायाधीश, महिला सभामुख हुनुमा मलाई गर्व छ । यो अधिकार हाम्रै संघर्षको परिणाम हो’ उहाँले भन्नुभयो,‘कुन पार्टीबाट को आए भन्ने कुरा मेरा लागि खास अर्थ राख्दैन । जुन पार्टीबाट आएपनि हाम्रो मुद्दा, हाम्रो आन्दोलनका कारण आउनुभएको छ ।’

Back to top button