रेडियोको उपयोगिता कहिल्यै सकिंदैनः विष्णु पौडेल

काठमाडौं । उपप्रधान एमं अर्थमन्त्री विष्णु पौडेलले सूचना प्रविधिमा जति परिवर्तन भए पनि रेडियोको उपयोगिता कहिल्यै नसकिने बताउनुभएको छ ।

आज १२ औँ विश्व रेडियो दिवसको अवसरमा युनेस्को, अमार्क एसिया प्यासेफिक र इनडिजिनियस मिडिया नेटवर्कको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब)ले ललितपुरमा गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले सञ्चारमाध्यमका नयाँ स्वरुप विकास भए पनि रेडियोको भविष्य सँधै उज्यालो रहेको बताउनुभयो ।

उहाँले नेपालका सामुदायिक रेडियोहरूको समस्या समाधानका लागि कानुनी र व्यवस्थापकीय पहल गर्न सरकार तयार रहेको बताउनुभयो । सामुदायिक रेडियोलाई तल पर्ने गरी कुनै पनि कानुन नबनाइने उहाँको प्रतिबद्धता थियो ।

उहाँले भन्नुभयो,‘सामुदायिक रेडियोको सन्दर्भमा संघीय अधिकारसँग बाझिने गरी कुनै अभ्यास गर्नै मिल्दैन । सरकारले सामुदायिक रेडियोलाई पछि पार्ने नीति लिँदैन र सामुदायिक रेडियो पनि पछि पर्नु हुँदैन । जेजति समस्या छन्, तिनको समाधानका लागि छलफल गरौँ । यसका लागि दिवस कुरिरहनुपर्दैन ।’

विगतका महत्वपूर्ण आन्दोलन र परिवर्तनमा सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण रहेको उहाँले स्मरण गर्नुभयो । ‘आज हामी जुनसुकै ठाउँमा पुगेको भए पनि आन्दोलनको उपलब्धिमा सामुदायिक रेडियोको भूमिका स्तुत्य र स्वर्णिम अक्षरले लेखिएको छ,’ उहाँले भन्नुभयो,‘भविष्यमा पनि स्वर्णिम अक्षरले लेख्ने गरी काम गर्न शुभकामना छ ।’

यस्तै, राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले समावेशीताको सिद्धान्त कार्यान्वयन, लैङ्गिक विभेद अन्त्यका लागि रेडियोको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

कार्यक्रममा अकोराबका अध्यक्ष अर्जुन गिरीले संघीय ऐन बिना नै रेडियोको इजाजत दिने काम भइरहेकोमा सरकारको ध्यानाकर्षण गराउनुभयो । यूनेस्कोका नेपाल प्रमुख मिचेल क्रफ्टले रेडियोले दिने सूचना र जानकारी तथ्यमा आधारित हुनुपर्नेमा जोड दिनुभयो । रेडियोले कुनै व्यक्ति वा वर्गका सीमित विषय पठाउनुनेभन्दा पनि तथ्यमा टेकेर सामग्री बनाउनुपर्ने उहाँको भनाइ थियो ।

सूचना तथा प्रसारण विभागका महानिर्देशक शंकर नेपालले मानव विकास सूचकाङ्कलाई बढाउन सामुदायिक रेडियोको योगदान अविस्मरणीय रहेको टिप्पणी गर्नुभयो ।

Back to top button