उपप्रधानमन्त्री श्रेष्ठ र भारतीय विदेशसचिव क्‍वात्राबीच भेटवार्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ । उहाँहरूबीच आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको हो ।

भेटका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले नेपालको रेल्वे,आर्थिक समृद्धि,नेपाल–भारतबीच भएका सन्धी सम्झौता तथा भारतीय पक्षले लगानी गरेका आयोजनाका बारेमा कुरा राख्नुभएको थियो।

भारतीय विदेश सचिव क्वात्राले भारतीय कम्पनीले संचालन गरिरहेको जयनगर–कुर्था रेल सञ्चालनको म्याद नवीकरणको विषयमा कुरा राख्नुभएको थियो ।  जयनगर–कुर्था रेलको संचालन भारतीय कम्पनी केआरसीएलूले गर्दै आएको छ । त्यसको म्याद सकिन लागेकाले विदेश सचिव क्वात्राले नवीकरणको विषयमा कुरा उठाउनुभएको थियो।

साथै त्यसप्रकारको रेलवे संचालनका लागि नेपाली प्राविधिक जनशक्तिलाई तालिम दिएर दक्ष बनाउन सके उनीहरूले नै नेपालमा रेलवे अप्रेसनको काम गर्न सक्ने क्वात्राले बताउनुभयो।

उपप्रधानमन्त्री श्रेष्ठले नेपाली प्राविधिक जनशक्तिलाई नै रेलवे संचालनका लागि दक्ष बनाउने कुरा सकारात्मक र महत्त्वपूर्ण भएको बताउनुभयो । शिष्टाचार भेटका क्रममा रक्सौल–काठमाडौं रेलवे निर्माण सम्बन्धमा पनि प्रारम्भिक छलफल भएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठले यसअघि पनि भारतीय राजदूतसँग रेलवे सेवा तथा भारतद्वारा लगानी भएका विभिन्न आयोजना सम्बन्धमा कुरा उठाउनुभएको थियो।

क्वात्राले उपप्रधानमन्त्री श्रेष्ठसँग अरुण तेस्रो आयोजनाको पहुँच मार्ग (एक्सेस रोड) छिटो निर्माण गरिदिने सम्बन्धमा पनि चासो राख्नुभएको थियो। जवाफमा श्रेष्ठले आफूहरूले त्यसलाई अघि बढाउने बताउनुभयो ।

यस्तै, श्रेष्ठ र क्वात्राबीच नेपालको आर्थिक समृद्धिको विषयमा द्विपक्षीय वार्ताका माध्यमबाट अघि बढ्नेबारे छलफल भएको थियो ।

Back to top button